काठमाण्डौ । धितोपत्र बोर्डले बजार सुचारु भएको अवस्थामा १५३ वटा संस्थालाई दिएको सवारी पास रद्ध गरेको छ । 

लकडाउनमा कडाईसँगै सेयर कारोबार लगायतका गतिविधि पुनः ठप्प भएसँगै बोर्डले बैशाख ३१ गतेसम्म विभिन्न संस्थालाई दिएको सवारी पास रद्ध गरेको हो । 

बोर्डले यो विषयमा सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैलाई जानकारी गराएको छ भने महानगरी प्रहरी कार्यालय काठमाण्डौलाई समेत पत्र लेख्दै बैशाख ३१ गतेसम्म जारी गरिएका सबै सवारी पास रद्ध गरिएको बताएको छ । 

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार यसअघि नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायीलगायत १५३ वटा संस्थालाई पास दिइएको थियो । अब ती कुनै पनि सवारी पासको आधारमा सवारी साधन चलाउन पाइनेछैन ।

अतिआवश्यक सेवा संचालन हुने संस्थाका लागि भने बोर्डले जेठ १ गतेदखि नयाँ पास जारी गर्ने र त्यो सवारी पास मात्र मान्य हुने व्यवस्था गरिदिन समेत बोर्डले प्रहरीलाई अनुरोध गरेको छ ।