काठमाण्डौ । काठमाण्डौका विभिन्न क्षेत्रमा गरिएको परीक्षणको क्रममा ७८ जनामा कोभिड १९ को एन्टीबडी फेला परेको छ । 

आरडिटी परीक्षणको क्रममा काठमाण्डौको भृकुटीमण्डप, गोंगबु बसपार्क क्षेत्र र कालीमाटी लगायतमा ७८ जनामा एन्टीबडी देखिएको हो । 

एन्टीबडी देखिनुको अर्थ ती व्यक्तिमा कुनै समय कोरोना संक्रमण थियो भन्ने हो । कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि त्यससँग लड्न शरीरलाई एन्टीबडी उत्पादन गर्ने गर्दछ । त्यस्ता व्यक्तिको स्वास्थ्य परीक्षणमा एन्टीबडी देखिने गर्दछ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाण्डौका विभिन्न स्थापनमा इपीडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाईमा केही दिनको अन्तरालमा भएको परीक्षणको क्रममा ७८ जनामा आरडिटी पोजिटिभ देखिएको हो । 

जसमध्ये सबैभन्दा धेरै भृकुटीमण्डप क्षेत्रबाट ३२ जनाको आरडिटी रिपोर्ट पोजिटिभ आएको छ । त्यहाँ ४५२ जनामा आरडिटी टेस्ट गरिएको थियो । यो क्षेत्रमा २४६ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिए पनि त्यसको रिपोर्ट आइसकेको छैन । 

गोंगबु एरियामा ४२० जनाको आरडिटी परीक्षण गरिएको १५ जनामा एन्टीबडी देखिएको छ । १७२ को पीसीआर परीक्षण गरिए पनि रिपोर्ट आइसकेको छैन । 

यस्तै, कालीमाटी क्षेत्रमा ७०० जनाको आरडिटी र ३३४ को पीसीआर टेस्ट गरिएको छ । यसमध्ये ३ जनाको आरडिटी पोजिटिभ आएको छ भने पीसीआर रिपोर्ट आइसकेको छैन । 

काठमाण्डौका सरसफाईसँग सम्बन्धित सेन्टरमा ६३४ जनाको आरडिटी परीक्षण गरिएकोमा ३१ जनामा एन्टीबडी देखिएको र २६७ को पीसीआर परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

यसरी स्वास्थ्य मन्त्रालयले केही दिनको अन्तरालमा काठमाण्डौ उपत्यकाभित्र २ हजार २३६ जनाको आरडिटी र १ हजार १९ जनाको पीसीआर विधिबाट नमूना संकलन र परीक्षण गरेको छ ।