काठमाण्डौ । कोरोनाभाइरस संक्रमित बिरामीलाई लाभदायक एकमात्र औषधि रेमडेसिविरसँग जोडिएका डेटाहरु पहिलोपटक प्रकाशमा आएका छन्।

करिब एक महिनाको ट्रायलपछि अमेरिकी सरकारका साथ काम गरिरहेका वैज्ञानिकहरुले यो औषधिसँग जोडिएको अध्ययन प्रकाशित गरेका हुन्। चिकित्सकहरुले निकै लामो समयदेखि यो औषधिसँग जोडिएका डेटाहरु माग गरेका थिए।

न्युयोर्क टाइम्स् डट कममा प्रकाशित समाचारअनुसार वैज्ञानिकहरुले यो औषधि गम्भीर रुपमा बिरामी परेका कोरोना संक्रमितको उपचारमा निकै प्रभावकारी रहेको दाबी गरेका छन्। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यो औषधि आपतकालीन स्थितिमा प्रयोग गर्नसमेत यसअघि नै अनुमति दिइसकेको छ।

रोयटर्सका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार रेमडेसिविरको ट्रायलबाट यो औषधि नियमित अक्सिन प्रयोग गर्नुपर्ने अवस्थामा रहेका कोरोना संक्रमित बिरामीलाई निकै लाभदायक रहेको प्रमाणित भइसकेको छ। 

यो रिसर्च प्रकाशित हुनुअघि विश्वभरका डाक्टर र रिसर्चर्सहरुसँग रेडमिसिभिर औषधिसँग जोडिएका केही सीमित जानकारीमात्र थियो। यो औषधि गिलिड साइन्सेज नामक कम्पनीले तयार गरेको हो। 

सुरुआतमा यो औषधि हेपाटाइटिसका बिरामीका लागि तयार गरिएको थियो। तर हेपाटाइटिसको उपचारमा यो औषधि प्रभावकारी साबित भएन। त्यसपछि यसलाई इबोलाका बिरामीको उपचारमा प्रयोग गरिएको थियो। इबोला रोकथाममा भने यसले हल्का प्रभाव पारेको थियो।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजका तर्फबाट स्पोन्सर गरिएको यो स्टी द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनको वेबसाइटमा गत शुक्रबार साँझ प्रकाशित गरिएको छ। स्टडीले रेमडेसिविर औषधिले कोरोना संक्रमित बिरामीलाई १५ दिनबाट घटाएर ११ दिनमै ठिक पार्ने दाबी गरिएको छ। स्टडीमा १०६३ गम्भीर बिरामीलाई रेमडेसिविर र प्लासिबो औषधि दिइएको थियो। जसलाई रेमडेसिविर औषधि दिइयो उनीहरुमा प्लासिबो औषधि दिइएका बिरामीको तुलनामा छिटै सुधार देखियो। प्लासिबो औषधिजस्तै देखिन्छ तर यसमा इनयाक्टिभ सब्सटेन्सको प्रयोग गरिएको हुन्छ।

स्टडीका प्रमुख जाँचकर्ता तथा नेब्रास्का युनिभर्सिटीका डा एन्ड्रे कलिल रेमडेसिविर औषधि कोरोना संक्रमित बिरामीका लागि फाइदाजनकमात्र नभई ठिक पार्ने समय पनि घटेको बताउँछन्। उनले यो औषधि पुरुष र महिला संक्रमितमा समान रुपले काम गरेको जानकारी दिए। 

यो स्टडीका अर्का जाँचकर्ता डा हेलेन चूले बिरामीमा लक्षण देखिएको १० दिनपछि वा अघि दुवै स्थितिमा यो औषधिले एउटैजस्तै प्रभाव पार्ने जानकारी दिइन्। – एजेन्सी