काठमाण्डौ । संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण गर्न बुधबार सशस्त्र प्रहरी बल हेडक्वार्टर हलचोकमा सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र पहिला नै ‘लिक’ भएको छ।
राष्ट्रसंघीय शान्ति मिसनमा पठाइने प्रहरी र सशस्त्रका सुरक्षाकर्मीको योग्यता जाँच्न बुधबार लिइएको ‘अंग्रेजी सीप परीक्षण’ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा २ घन्टाअघि नै भाइबरमार्फत सार्वजनिक भएको हो।
परीक्षा सञ्चालन गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय टोली नै पठाउँछ। परीक्षाको गोपनीयताका लागि उसले प्रश्नपत्र, अडियोलगायत सामग्री उतैबाट बनाएर ल्याउँछ।
अंग्रेजी सीप परीक्षण, ड्राइभिङ, सुटिङ र अन्तर्वार्तामा विभिाजित परीक्षामध्ये अंग्रेजी सीप परीक्षण परीक्षा केन्द्र हलचोकस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर चयन गरिएको थियो। परीक्षाअघि नै सो विषयको प्रश्नपत्र बाहिरिएको हो।
अंग्रेजी भाषा सीप परीक्षणका लागि पहिलो टोलीका ४ सय जनाको परीक्षा समय दिउँसो १२ बजे तोकिएको थियो। प्रश्नपत्र बाहिरिन नदिन परीक्षा हलमा मोबाइल लैजानसमेत रोक लगाइएको थियो। तर, १० बजे नै प्रश्नपत्र परीक्षार्थीको मोबाइलमा पुगिसकेको थियो। स्रोतका अनुसार १० बजे भाइबरमार्फत परीक्षार्थीले प्रश्नपत्र पाएका थिए।
दिउँसो ३ बजे दोस्रो टोलीको परीक्षा तोकिएको थियो। दोस्रो टोलीका लागि राष्ट्रसंघले तयार पारेको प्रश्नपत्र पनि परीक्षा सुुरु हुनुअघि नै सार्वजनिक भइसकेको थियो। दोस्रो टोलीको प्रश्नपत्र पनि भाइबरमार्फत परीक्षार्थीले पाएका थिए।
परीक्षा लिन राष्ट्रसंघले युक्रेनी र अमेरिकीसहित ६ जनाको टोली नेपाल पठाएको थियो। उनीहरूले परीक्षा सामग्री आफूसँगै ल्याएका थिए। जानकार स्रोतका अनुसार परीक्षा सामग्रीको गोपनीयताका लागि राष्ट्रसंघले खटाएको टोलीले परीक्षा केन्द्रमा आवश्यक प्रश्नपत्र प्रिन्ट र फोटोकपी गरेको थियो। तर, जति गोपनीयता अपनाए पनि शान्ति मिसनमा सहभागी हुन चाहने दुबै सुरक्षा संगठनका सदस्यको योग्यता परीक्षाको प्रश्नपत्र सुरक्षित भएन। नागरिकले प्राप्त गरेको परीक्षाअघि बाहिरिएको प्रश्नपत्र कच्याककुचुक पारेर पछि सम्याएको देखिन्छ। एक व्यक्तिले हातले समातेर खिचिएको प्रश्नपत्रको पछाडि फोहोर देखिन्छ।
परीक्षा समन्वय गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी अधिकृत खटिएका थिए। केन्द्र हलचोकमा रहेकाले परीक्षा सामग्रीको सुरक्षा र केन्द्रको सुरक्षा जिम्मेवारी सशस्त्रले लिएको थियो। स्रोतका अनुसार प्रश्नपत्र हलचोकमै प्रिन्ट र फोटोकपी गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago