काठमाण्डौ । धितोपत्र बोर्डले पूर्ण स्वचालित अनलाइन प्रणालीको पूर्व अभ्यासको रुपमा अगाडि ल्याएको सेमी अनलाइन प्रणाली कार्यान्वयनको बिषयमा धितोपत्र दलाल(स्टक ब्रोकर)हरुले अड्को थापेका छन् । 

सेमी-अनलाइन प्रणाली कार्यान्वयन गर्दा केही कर्मचारी र कम्प्युटर समेत थप्नुपर्ने भन्दै अड्को थापेका हुन् । उनीहरुले कर्मचारी र कम्प्युटर थपको समस्यालाई तेस्र्याए पनि बोर्डले भने हालको सफ्टवेयरमा सुधार गरी शीघ्र सेमी अनलाइन प्रणाली कार्यान्वयन गर्न कडा निर्देशन दिएको छ । 

 

उनीहरुले बोर्डले भनेजस्तो सेमी-अनलाइन प्रणाली कार्यान्वयन गर्दा केही कर्मचारी र कम्प्युटर समेत थप्नुपर्ने भन्दै अड्को थापेका हुन् । उनीहरुले कर्मचारी र कम्प्युटर थपको समस्यालाई तेस्र्याए पनि बोर्डले भने हालको सफ्टवेयरमा सुधार गरी शीघ्र सेमी अनलाइन प्रणाली कार्यान्वयन गर्न कडा निर्देशन दिएको छ । 

केही दिनअघि बोर्डले धितोपत्र दलाल व्यवसायीहरुले हाल प्रयोग गर्दै आइरहेको नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)बाट स्वीकृत ब्रोकर ब्याक अफिस सफ्टवेयर मार्फत लगानीकर्ताहरुले सरल र सहज रुपमा इन्टरनेट मार्फत खरिद बिक्री आदेश दिनसक्ने व्यवस्थाका लागि दलाल व्यवसायीहरुलाई परिपत्र गरेको थियो । 

बोर्डले दलाल व्यवसायीलाई दिएको निर्देशनको सम्बन्धमा हालै धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताहरुको लागि सफ्टवेयर निर्माता कम्पनीहरुबीच अन्तरक्रिया गराएको छ । अन्तरक्रिया ब्रोकर ब्रोकर ब्याक अफिस सफ्टवेयरको बिषयमा केन्द्रीत थियो । 

बोर्डका अनुसार नेप्सेले आफ्नो विद्यमान Automated Trading System लाई प्रतिस्थापन गरी Online Trading System ल्याउन लागिरहेको परिप्रेक्ष्यमा आउने नयाँ प्रणालीको प्रयोगलाई थप सहजिकरण गर्न तथा पूर्व अभ्यास गराउने उद्देश्यले विद्यमान व्याक अफिस सिस्टम मार्फत खरिद विक्री आदेश दिने र तथ्यांकको अभिलेख व्यवस्थापन गर्न उक्त प्रणालीका सम्बन्धमा सफ्टवेयर निर्माताहरुले प्रणालीका व्यवस्था तथा प्रयोग सम्बन्धमा छलफल भएको हो ।

सो अवसरमा लगानीकर्ताहरुले आफूले दिएको खरिदबिक्री आदेश ब्रोकरहरुले तुरुन्तै हेर्न मिल्ने, आदेश अनुसार कार्यान्वयन गर्नपर्ने तथा आदेश रद्द गर्न मिल्ने र नमिल्ने जस्ता सुविधा उक्त प्रणालीमा हुनुपर्ने माग राखेका थिए । 

सो क्रममा धितोपत्र दलाल व्यवसायीहरुले सो प्रणालीमा सुधार र थप गर्दा केही कम्प्युटर र जनशक्तिको आवश्यक्ता पर्ने जस्ता समस्याहरु उठाएका थिए । 

सो कार्यक्रममा सफ्टवेयर निर्माता कम्पनीहरुले लगानीकर्ता तथा दलाल व्यवसायीहरुबाट उठेका समस्याहरुलाई निराकरण गर्न प्रणालीमा सामान्य सुधार गरी इन्टरनेट मार्फत खरिद बिक्री आदेश दिन सक्ने सम्बन्धमा थप प्रष्ट पारेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले आगामी दिनमा अनलाईन मार्फत कारोवार हुने हुँदा यसलाई त्यसको पूर्वाभ्यासका रुपमा लिनको लागि यो व्यवस्था गरिएको प्रकाश पार्दै यस्तो सफ्टवेयर तयारी भइसकेकोले सो तत्काल प्रयोग गर्न सकिने समेत बताए ।

प्रणालीमा देखिएका कमिकमजोरीहरु तथा थप गर्नुपर्ने व्यवस्थाहरु बारेमा समेत छलफल भएकोले यसले आदेश व्यवस्थापनमा पारदर्शीता र सहजता ल्याउने तथा ब्रोकर कार्यालयमा रहने कारोबार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्ने तथा लगानीकर्ताहरुलाई समेत सुविधा हुने देखिएकोले प्रणालीमा केही सुधार गरी यसलाई क्रमशः प्रयोग गर्न सकिनेमा सहभागीहरुको एकमत थियो ।