काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशमा ५८६ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित थपिएको यो नै पहिलो हो । 

योसहित देशमा कुल कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन् ।

उनका अुनसार सबैभन्दा धेरै महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् भने रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६ २६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी, मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७ ७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका १ १ जना थप संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित निको भएर घर फर्किएका छ । योसहित कोरोनामुक्त हुने संक्रमितको संख्या १ हजार १६७ पुगेको छ । 

थप एकको मृत्यु
यसैबीच, कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । 

प्रवक्ता डा. गौतमका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी मृगौलासम्बन्धी रोगबाट पीडित थिइन् । समस्या केही जटिल भएपछि उनलाई जेठ ३० गते कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । असार १ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । तर, सो रिपोर्ट नआउँदै उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

योसहित देशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।