file photo
काठमाण्डौ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको पूर्ण लकडाउन र असार १ गतेदेखि खुकुलो भए पनि धितोपत्र बोर्डको रहस्यमय भूमिकाका कारण लामो समयदेखि बन्द रहेको सेयर बजार असार १५(सोमबार)देखि खुल्दैछ ।
बजार खुल्ने विषयले लामो समयदेखि आफ्नो सम्पत्ति बन्धकमा परेको पीडा भोगेका लगानीकर्ता उत्साहित छन् । तर, लकडाउन पूर्ण रुपमा नखुलेकोले लगानीकर्ताले साबिकको झै ब्रोकर अफिसमै गएर स्क्रिन रुम अगाडि बस्ने र त्यहीबाट कारोबार गर्न भने पाउने छैनन् ।
धितोपत्र बोर्डले दोश्रो बजारको कारोबार संचालन गर्ने व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिंदै अर्को व्यवस्था नहुञ्जेल स्टक ब्रोकरहरुले लगानीकर्ताका लागि स्क्रिन रुम संचालन गर्न नपाउने प्रष्ट पारेको हो । कसैले स्क्रिन रुम संचालन गरेमा त्यस्ता ब्रोकरमाथि कडा कारबाही हुने पनि बोर्डले प्रष्ट पारेको छ ।
'लगानीकर्ताहरुले हालसम्म गरिएका व्यवस्था बमोजिम घरैबाट कारोवार गर्न सक्ने व्यवस्था गरिएको हुंदा ब्रोकरहरुसंग सम्पर्क गरि सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको छ ।' बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'धितोपत्र बजार सम्बद्ध संस्थाहरूले उपयुक्त स्वास्थ्य सुरक्षा विधिहरू नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्था उपर कारवाही हुनेछ।'
बोर्डले दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सुुचारु गर्ने व्यवस्था मिलाउन समेत भनेको छ । सोही निर्देशनपछि नेप्सेले बढेको कारोबार समय घटाउने निर्णय गरिसकेको छ भने सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी व्यवस्था पनि पुरानै कार्यान्वयनमा ल्याइनेछ ।
लगानीकर्ताहरूले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डले उल्लेख छ ।
बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएससि, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड-१९ सुरक्षाका उपायहरू पालना गरी कारोबार गर्नु पर्ने पनि बोर्डको निर्देशनमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago