काठमाण्डौ । लकडाउनका कारण लामो समयसम्म बन्द भई खुलेको बजारमा एक अर्ब बढीको सेयर कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार बजारमा लकडाउनपछिकै धेरै कारोबार भएको हो ।
यो दिन नेप्से परिसूचक ९.३५ अंकले बढी १२६५.४६ को विन्दूमा पुगेको छ ।
कारोबार सुरु भएको ३० मिनेटमै नेप्से परिसूचकमा उछाल आई १२८१ को विन्दूमा पुगेको थियो । त्यसपछि फेरि घट्न थालेको बजार १२४२ विन्दूमा झरी पुनः उकालो लागेको थियो । कारोबारको एकघण्टापछि १२४२ को विन्दूबाट उकालो लाग्न सुरु भएको बजार लामो समयसम्म १२६३ देखि १२७५ को बीचमा घुमिरह्यो । कारोबार सकिन आधाघण्टा बाँकी छँदा १२५६ हाराहारीमा ओर्लिएको बजार बन्द हुँदा भने केही बढेको हो ।
लकडाउनको लामो समयपछि बजार खुलेलगत्तै २ दिन पोजिटिभ सर्किट लाग्दै उछालको गतिमा दौडिएको बजारमा अर्को दिन भने तीव्र गिरावट आएको थियो । तीव्र उतारचढावको अस्थिर अवस्थालाई रोक्दै आइतबारको बजारले स्थिर बजारको आधारशिला तयार गरिदिएको हो ।
बजार अब तीव्र उतारचढावको बाटोबाट स्वभाविक र स्थिर बाटोतर्फ अगाडि बढेको आइतबारको कारोबार तथा नेप्से परिसूचकतर्फको बढोत्तरीले संकेत गरेको जानकार बताउँछन् ।
यो दिन बैंकिङ समूह ३.३५ अंकले बढ्यो भने होटल समूहमा ७.१८ अंक, जीवन बिमा समूहमा २१२.५६ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.९८ अंक र माइक्रोफाइनान्स समूहमा ९.८३ अंकको बढोत्तरी भयो ।
विकास बैंक समूह ११.११ अंकले घटेको यो दिन बित्त समूहमा ६.२७ अंक, जलविद्युत समूहमा २.८५ अंक र म्युचुअल फण्ड समूहमा ०.१७ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये १७२ कम्पनीका २८ लाख ६ हजार ८९८ कित्ता सेयर १ अर्ब ३ करोड ३३ लाख ९० हजार २३०.६२ रुपैयाँमा कारोबार भयो।
नेपाल पुनर्बीमा कम्पनीले १५ करोड १२ लाख रुपैयाँ बढीको कारोबार गरेको आजको दिन नेपाल लाइफ इन्स्योरेन्सले १० करोड २६ लाख रुपैयाँ बढीको कारोबार गर्यो ।
आज नबिल बैंकले ४ करोड २४ लाख रुपैयाँ, एनएमबी बैंकले ४ करोड ११ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीले ४ करोड ६ लाख रुपैयाँ, शिवम सिमेन्टले ३ करोड ३९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ३ करोड १६ लाख रुपैयाँ, नागरिक लगानी कोषले २ करोड ३५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले २ करोड २३ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकले २ करोड १७ लाख रुपैयाँ बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउनेहरु
आज सूर्योदय लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्य ९.८६ प्रतिशतले बढ्दै पोजेटिभ सर्किट लाग्यो ।
त्यस्तै जनउत्थान सामुदायिक लुघवित्तका सेयरधनीहरु पनि यो दिन मालामाल भए । यो कम्पनीको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको उछाल आयो ।
आज सेन्ट्रल फाइनान्स र साल्ट ट्रेडिङका सेयरधनीहरुले धेरै गुमाए । यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लाग्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19