काठमाण्डौ । सेयर बजारले यो साताका लागि सुखद् सुरुआत गरेको छ।
मौद्रिक नीति सार्वजनिक हुने समय नजिकिँदै जाँदा बजारसमेत लयमा हिँड्ने क्रम जारी छ। अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ। आफूसँग भएको अधिक लगानीयोग्य रकम परिचालनका लागि बैंकहरुले धमाधम ब्याजदर घटाइरहेका छन्। यसको सोझो प्रभाव सेयर बजारमा परेको छ। सेयर बजार र ब्याजदरको सम्बन्ध ठीकविपरीत हुन्छ। अर्थात, ब्याजदर घट्दा सेयर बजार बढ्ने मनोबलको विकास हुन्छ भने ब्याजदर बढ्दा सेयर बजारमा नकारात्मक असर पर्ने गर्छ।
एकातिर अधिक तरलताका कारण बैंकको ब्याजदर घट्दो अवस्थामा छ भने अर्कोतर्फ बजार विकास र विस्तारका लागि भएका कतिपय कामको सकारात्मक प्रभावसमेत बजारमा परेको छ।
नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा बढाउने गभर्नरबाटै विभिन्न फोरमहरुमा घोषणा भइसकेको छ। यसले समेत लगानीकर्ताको मनोबल माथि उठाउने काम गरेको छ।
यी सबै सकारात्मक परिवर्तन तथा अवस्थाका कारण बजार उकालो यात्रामा हिँडिरहेको छ। यो क्रमले साताको पहिलो कारोबार दिन आइतबार समेत निरन्तरता पायो। यो दिन नेप्से परिसूचक ९.०२ अंकले बढेर १३४०.२९ को विन्दूमा पुग्यो।
नेप्से परिसूचकसँगै कारोबार रकमसमेत बढेर १ अर्ब ११ करोड माथि पुगेको छ। बजार परिसूचकसँगै कारोबार रकम समानान्तर ढंगले बढ्नुलाई विश्लेषकहरुले सुखद भविष्यका लागि शुभसंकेत मान्ने गर्छन्। यस्तो प्रवृत्ति केही दिनसम्म बजारमा रहिरहनु भनेको खरीदको चाप निरन्तर सिर्जना भइरहेको छ भन्ने हो र यसले बजारलाई माथि उठाउने प्रशस्त आधारहरु तयार गरिदिन्छ।
आज नेप्से उसमूहमा रहेका १२ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ५ वटा समूहमा रातो पोतियो।
यो दिन जीवन बीमा समूहमा उछाल आयो। यो समूहमा मात्रै १९७.२४ अंकको बढोत्तरी भयो। त्यस्तै लघुवित्त समूहमा ८२.६४ अंक, निर्जीवन बीमा समूहमा ८०.५४ अंक, उत्पादन तथा प्रशोधन समूहमा १७.३५ अंक, अन्य समूहमा ७.७८ अंक, वित्त समूहमा ६.५४ अंक र व्यापार समूहमा १.०६ अंकको बढोत्तरी भयो।
आज होटेल्स् समूहमा ५३.२२ अंकको गिरावट आयो। यस्तै विकास बैंक समूहमा ४.०१ अंक, बैंकिङ समूहमा १.१४ अंक, जलविद्युत् समूहमा ०.३८ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १७९ कम्पनीका २६ लाख ७८ हजार ५०७ कित्ता सेयर १ अर्ब ११ करोड १० लाख ९० हजार २७२ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गरे। नेपाल लाइफ इन्स्योरेन्सले १६ करोड पाँच लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले १४ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार गरे।
यसैगरी एनआईसी एसिया बैंकले ४ करोड ४८ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले ४ करोड ४४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीले २ करोड ८३ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले २ करोड ६५ लाख रुपैयाँ, एनएमबी बैंकले २ करोड ५२ लाख रुपैयाँ, छिमेक लघुवित्तले २ करोड १७ लाख रुपैयाँ, नागरिक लगानी कोषले २ करोड १६ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडले २ करोड ७ लाख रुपैयाँ बढीको कारोबार गरेका छन्।
धेरै कमाउने र गुमाउनेहरु
आज ६ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। सूर्योदय लघुवित्त, स्वरोजगार लघुवित्त, गणपति माइक्रोफाइनान्स, मिथिला लघुवित्त, एनआईसी एसिया लघुवित्त र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। वोमी लघुवित्तको सेयरमूल्य पनि साढे ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
आजको दिन तिनाउ मिसन विकास बैंक र जोशी हाइड्रोपावरका सेयरधनीहरुले गुमाए। यी दुवै कम्पनीका सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago