काठमाण्डौ । पूँजी बजारमा विदेशी लगानी भित्र्याउने बाटो खुलेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विशिष्टीकृत लगानी कोष नियमाली, २०७५ मा प्रथम संशोधन गरेसँगै पूँजी बजारमा विदेशी लगानी भित्र्याउने बाटो खुलेको हो। अर्थ मन्त्रालयको स्वीकृतिमा बोर्डले विदेशी कोष र बिदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्विटी फन्ड तथा भेन्चर क्यापिटल फन्डको दायर विस्तार गरी डेब्ट इन्भेस्टमेन्ट र ऋणलाई समावेश गर्न साविकको नियमालीमा प्रथम संशोधन गरेको हो। 

बोर्डले साउन १ गतेदेखि लागू हुने गरी जारी गरेको संशोधित नियमावलीमा विदेशमा दर्ता भएको कोष तथा कोष व्यवस्थापकले प्रचलित नेपाल कानुनको अधीनमा रही त्यस्तो कोष वा कोष व्यवस्थापनको पूर्ण वा अधिकांश स्वामित्वमा नेपालमा कोष स्थापना वा कोष व्यवस्थापनको कार्य गर्न सक्ने व्यवस्था गरेको छ। संशोधित नियमावलीमा प्राइभेट इक्विटी फन्डको दायरा विस्तार गरी प्राइभेट इक्विटीको परिभाषामा साधारण सेयरमा परिवर्तिनीय धितोपत्र वा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा ऋण वा स्वपूँजीसँग सम्बन्धित अन्य उपकरणमा लगानी गर्ने कोष भनी थप गरिएको छ।

भेन्चर क्यापिटल फन्डको दायरा विस्तार गरी परिभाषामा ऋणको स्वरुप भएको उपकरण (डेब्ट इन्स्ट्रुमेन्ट) वा लगानी गर्ने कोषसमेत संशोधित निमायवलीमा थप गरिएको छ। 

यसैगरी योग्य लगानीकर्तामा द्विपक्षीय वा बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताका साथै विदेशी कोष व्यवस्थापक र अन्य यस्तै प्रकारको संगठित संस्थालाई समावेश गरिएको बोर्डले जनाएको छ।