काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ । 

महासंघको बिहीबार सम्पन्न पदाधिकारी समिति बैठकले यस्तो निर्णय गरेको हो । 

‘कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमवारको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकारको सभा/सम्मेलन/भेला आयोजना गर्न प्रतिवन्ध लगाएको निर्णय समेतलाई आधारमानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारणसभा सरकारले सभा/सम्मेलन/भेला गर्ने स्वीकृति दिएको १५ दिनभित्र आयोजना गर्ने निर्णय भएको छ ।’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा महासंघ सचिवालयमा बैठक बसेको थियो । बैठकमा महासंघका पूर्व अध्यक्षहरू एवं पदाधिकारीहरू पनि सहभागी थिए । सो बैठकले महासंघको ५४ औं वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । 

बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्व अध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता थियो ।