काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बोर्डबाट स्वीकृति प्राप्त नगरेका सार्वजनिक निष्कासन (आईपीओ) तथा योजनाहरुमा सहभागी नहुन सार्वसाधारण लगानीकर्तालाई आग्रह गरेको छ।

बोर्डले केही समययता विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेसनजस्ता कम्पनीले नेपाली नागरिकलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको समाचार र विज्ञापनहरुप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले उक्त कम्पनीलाई बोर्डले आईपीओ निष्कासनको अनुमति नदिएको स्पष्ट पारेको छ। 

बोर्डद्वारा जारी सूचनामा बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्कासन गर्ने कार्य गैरकानुनी हुने र त्यस्ता धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्यवस्थाबाट लगानीकर्ताहरुका हित संरक्षण नहुने स्पष्ट पारिएको छ। त्यसैले कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्दा बोर्डबाट स्वीकृत प्राप्त गरेको निष्कासनमा मात्र लगानी गर्न बोर्डले लगानीकर्ताहरुलाई आग्रह गरेको छ। 

यसैगरी बोर्डले बोर्डको दफा २९ (१) मा संगठित संस्थाले एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्रीवितरण गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्रीवितरणका लागि सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। त्यसैले प्रचलित कानुनबमोजिम स्वीकृति नपाएका त्यस्ता निष्कासनमा लगानीकर्तालाई लक्षित गरी कुनै पनि व्यक्ति वा संस्थाले सञ्चारमाध्यममार्फत त्यस्तो सूचना तथा विज्ञापन प्रकाशन तथा सम्प्रेषण नगर्न नगराउन पनि बोर्डले आग्रह गरेको छ।