काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ३१५ कोरोना संक्रमितको पहिचान भएको छ । 

यो अवधिमा देशभरबाट ९३ संक्रमित निको भएर घर फर्किएका छन् । यसरी हालसम्म निको भएर घर फर्किनेको संख्या १४ हजार ४९२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा काठमाण्डौका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

राष्टिय जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणमा काठमाण्डौका २ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाण्डौका एकजना र कोरियामैत्री अस्पताल भक्तपुरको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाण्डौ २ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको छ । 

हाल देशभर क्वारेन्टिनमा रहेकाहरुको कुल संख्या ११ हजार ५३३ रहेको छ । 

पाँचसयभन्दा बढी संक्रमित २ वटा जिल्लामा मात्र रहेका छन् । ती जिल्ला रौतहट र कैलाली हुन् । यस्तै, ५ वटा जिल्लामा संक्रमितको संख्या शून्य रहेको छ । 

लकडाउन खुलेपछि बढ्यो संक्रमण
यसैबीच, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लकडाउन खुलेपछि संक्रमण हुनेको संख्या बढेको भन्दै सचेत हुन आग्रह गरेका छन् । 

उनका अनुसार लकडाउन खोल्नुभन्दा ११ दिनअघि ४७ हजार ८७७ को पीसीआर टेस्ट हुँदा १ हजार ३४५ मा कोरोना संक्रमण देखिएको थियो । यो भनेको कुल टेस्टको २.८ प्रतिशत हो । 

लकडाउन अन्तको घोषणा भएपछिका ११ दिनमा ५८ हजार २७४ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ९२ मा संक्रमण पुष्टि भएको छ । यो भनेको ३.६ प्रतिशत हो । यसरी लकडाउन खुकुलो भएप्छि संक्रमितको संख्या ०.८ प्रतिशतले बढेको देखिएको हो । 

शनिवारसम्ममा देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ छ ।