काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा ६२ जना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाण्डौमा मात्रै यो अवधिमा ४८ नयाँ संक्रमितको पहिचान भएको हो । 

थपिएको संख्यासहित हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । 

पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट निको भएर घर फर्किनेको संख्या ६५ रहेको छ । योसहित कुल निको भएका संक्रमितको संख्या १५ हजार २६ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको छ । 

सरकारले विगत केही दिनको अवधिमा काठमाण्डौ भित्रिने विभिन्न नाकाबाट १० हजार ८५३ जनाको स्वाब परीक्षण गरेकोमा ४० जना संक्रमित फेला परेका बताइएको छ । नागढुंगा नाकामा १६ जना, साँगा नाकामा १३ जना र फर्पिंग नाकाबाट ११ जना संक्रमित फेला परेका हुन् । उनीहरु सबै विभिन्न जिल्लाबाट काठमाण्डौ भित्रिएका सर्वसाधारण थिए । यसरी हेर्दा नाकाहरुमा गरिएको कुल परीक्षणमा ०.४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।