काठमाण्डौ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको छ । यदि सीडीओहरुले भनेजस्तै निषेधाज्ञा जारी भए धितोपत्र बजार चाहिँ के हुन्छ ?

लकडाउनको अवधिमा बजार बन्दको तीतो घटना व्यहोरेका लगानीकर्तामा अन्यौल हुनसक्छ । तर, बजारको नियामक धितोपत्र बोर्डले भने निषेधाज्ञा जारी भए पनि अब भने बजार बन्द नहुने प्रष्ट्याएको छ । 

कोरोना संक्रमितको संख्या पछिल्ला समय काठमाण्डौमा बढिरहेका सन्दर्भमा क्याबिनेटबाटै अधिकार पाएका उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले आज बेलुकीसम्म निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको छ । यसै सन्दर्भमा  धितोपत्र बजार बन्द होला कि नहोला भन्ने जिज्ञासामा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र बजार बन्द नहुने बताएका छन् । ‘धितोपत्र कारोबार हाल अनलाइनबाटै हुने भएकाले समेत बजार रोकिँदैन, बन्द हुँदैन ।’ उनले बिजशालासँग संक्षिप्तमा भने ।

पछिल्लो समय नेप्सेको अनलाइन कारोबार प्रणालीमा समेत करिब ६० हजार लगानीकर्ता आवद्ध हुनु, इडीआइएस अनिवार्य हुनु र रकम हस्तान्तरणका लागि एनसीएचएलको कनेक्ट आइपीएस खुला भएसँगै सेयर ब्रोकरकहाँ गई भौतिक उपस्थिति भने हुन आवश्यक छैन ।

गत चैतमा सरकारले देशव्यापी लकडाउन गरेका बेला धितोपत्र बजार बन्द भएको थियो । त्यसको बीचमा बैशाख ३० र ३१ बजार खुल्दा सेयर किनबेचमा समस्या भएकाले बजार पुनः बन्द गर्नुपरेको थियो । 

गत असार १ गते सरकारले लकडाउन खोलेपछि असार १५ बाट भने देशका मुख्य सहरहरुमा निषेधाज्ञा जारी हुँदाको अवस्थामा पनि हाल सेयर बजार सुचारु नै छ ।