काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा काठमाण्डौ जिल्लामा १२६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न जिल्लामा ८१८ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा देशभरबाट २८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसहित निको भई घर फर्किने कोरोना संक्रमितको संख्या १८ हजार ६३१ पुगेको छ । आजको मितिसम्म निको हुने संक्रमितको दर ५८ प्रतिशत रहेको छ । 

हालसम्म ६ लाख ४ हजार ४४ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

हाल देशभरका आइसियूमा १३७ कोरोना संक्रमित रहेका छन् । प्रदेश १ मा १७ जना, प्रदेश २ मा ४९ जना, बागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १६ जना संक्रमित आइसियूमा रहेका छन् । 

यस्तै, १० जना भेन्टिलेटरमा रहेका छन् । ती सबै बागमति प्रदेशमा रहेका बताइएको छ । 

हालसम्म ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या ६ वटा रहेका छन् । ती जिल्लाहरु मोरंग, पर्सा, महोत्तरी, सर्लाही, रौतहट र काठमाण्डौ रहेका छन् । देशका ५ वटा जिल्लामा कोरोना संक्रमितका एउटा पनि केश छैनन् ।