काठमाण्डौ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम समेत पौने ३ अर्ब नजिक पुगेको छ । 

पछिल्लो समय धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले ब्रोकर कार्यालय नै नगई धितोपत्र किनबेच संसारका जुनसुकै स्थानबाट सहजै गर्नसक्ने व्यवस्था लागू भएसँगै दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण ह्वात्तै बढेको हो । 

तर, अधिकांश लगानीकर्ताको मनोविज्ञानमा भने सेयरबजार विरोधी छवि बनाएका अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको खबरले सकारात्मक प्रभाव पारेको देखिएको छ । अर्थमन्त्रीको रुपमा डा. खतिवडा रहिरने संभावना अब छैन । उनले आफ्ना निकटस्थहरुसँग समेत आफू मन्त्रीबाट विदा लिने तयारीमा रहेको बताइसकेका छन् । उनको कार्यकाल भदौ २० गतेदेखि स्वतः सकिँदैछ । यो खबरले सेयर बजारमा सकारात्मक माहौल र लगानीकर्तामा उत्साहको अवस्था सिर्जना गरेको विश्लेषकहरु दाबी गर्छन् । 

अर्कोतर्फ, पछिल्ला दिनमा नयाँ प्रवेशी लगानीकर्ताहरुको प्रवेश र पुराना लगानीकर्ताहरुको मनोबलमा सकारात्मक प्रभाव पार्न समेत अनलाइन कारोबार प्रणाली, अर्थमन्त्रीको बहिर्गमनको खबर लगायतका विषयले सहयोग गरेको विश्लेषक बताउँछन् । यिनै कारण अघिल्लो सातासम्म स्थिर रहेको सेयर बजार यो साताको सुरुदेखि नै निरन्तर उकालो यात्रामा छ । 

पुराना ऋणीहरुले समेत ८-९ प्रतिशत ब्याजदर सहज रुपमा पाउँदा मनोबल बढिरहेको छ भने कोरोनाका कारण जारी निषेधाज्ञाले लगानी क्षेत्र संकुचन हुँदा हाल सेयर बजारमा नै उपयुक्त लगानीको क्षेत्र रहेकाले दिनानुदिन दैनिक कारोबार रकम समेत उल्लेख्य बढिरहेको छ ।

बैंकहरुले बचतमा २ प्रतिशत ब्याजभन्दा सेयर लगानीबाट न्यूनतम ५ देखि ७ प्रतिशत ग्यारेण्टी प्रतिफल पाउने र पूँजीगत लाभ पाउने सम्भावनासमेत भएकाले समेत तुलनात्मक रुपमा पछिल्लो समय सेयर बजारमा लगानी ओइरिएको विश्लेषकहरु दाबी गर्छन् । सेयर बजार प्रविधिमैत्री बन्दै जाँदा दैनिक कारोबार रकम र इण्डेक्समा समेत उछाल आउने विश्लेषकहरुको अनुमानलाई आधार मान्ने हो भने पनि विषम परिस्थितिमा घरबाटै सेयर किनबेच सम्भव भएपछि लगानीकर्ताहरुको मनोबल बढिरहेको देखिन्छ । 

आज बजारमा बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानीकर्ताको विशेष आकर्षण देखियो । यी समूहमा पर्ने कम्पनीहरुकै देनका कारण नेप्से परिसूचक २१.१० अंकको बढोत्तरीसँगै १४६२.०३ को विन्दुको उचाइमा पुग्यो । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७७ अंकको वृद्धिसँगै २९८.७४ को विन्दुमा उक्लियो।

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने बाँकी २ वटामा रातो पोतिएको छ।

आज सबैभन्दा बढी निर्जीवन बीमा समूहमा ५१.६२ अंकको उछाल आएको छ । लघुवित्त समूहमा ४१.१४ अंकको वृद्धि भएको यो दिन बैंकिङ समूहमा २२.९३ अंक, विकास बैंक समूहमा २५.०४ अंक, वित्त समूहमा १.२७ अंक, होटेल्स् समूहमा ३.४० अंक, जलविद्युत् समूहमा ११.२५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.३५ अंक, म्युचुअल फन्ड समूहमा ०.१६ अंक र अन्य समूहमा १७.२९ अंकको बढोत्तरी भएको छ।

यो दिन जीवन बीमा समूहमा १७.९७ अंक र व्यापार समूहमा १.१३ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका ५८ लाख ८२ हजार १०१ कित्ता सेयर २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँमा कारोबार भएको छ ।

यो दिन सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भयो ।

यसैगरी, नेको इन्स्योरेन्सको १३ करोड ७८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ४० लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ८ करोड २९ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड ९८ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ६१ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ७ करोड ३३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँ र नेपाल बैंकको ५ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भयो।

धेरै कमाउने र धेरै गुमाउनेहरु
आज धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिन नै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो।

आज नेपाल फाइनान्सका सेयरधनीहरुले पनि कमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो।

यो दिन समृद्धि फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लाग्यो।