काठमाण्डौ । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ ।
नियमित कारोबार समयमा टीएमएसमा प्राविधिक समस्या आएपछि धितोपत्र कारोबार केही समय स्थगित भएको थियो । नेप्सेले समस्या हल गरेपछि २ घण्टा समय थप गरी बजार सञ्चालन भएको थियो ।
आजको बजारमा अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडा नै निरन्तर हुने संभावना सम्बन्धी समाचारबाट प्रभावित भएको देखियो । लगानीकर्तामा खतिवडाले अर्थमन्त्रीको रुपमा निरन्तरता नपाउन् भन्ने चाहना देखिन्छ । यही चाहना विपरीत घटनाक्रमको विकास भएपछि त्यसले मनोबलमा सामान्य प्रभाव पारेको देखिएको हो ।
तर, अर्थमन्त्रीकै विषयलाई लिएर बजार घटबढ हुनु वा गराउनु व्यवहारिक देखिन्न । अर्थमन्त्री आउँछन् जान्छन, मुख्य रुपमा बजारलाई प्रभाव पार्ने अन्य कुराहरु कस्तो छ भन्ने कुरा पनि यस्तो बेलामा लगानीकर्ताले ध्यान दिनुपर्छ । जस्तो अहिले सिंगल डिजिटमा ब्याजदर झरेको छ । यसले समेत लगानीकर्ताको मनोबल उठाउने काम गरेको छ । यहीकारण समेत अर्थमन्त्रीको विषयलाई पन्छाएर लगानीकर्ताहरुले बजारमा सक्रियता बढाउँदा सेयरको आपूर्तिभन्दा माग पक्ष समेत निकै बलियो भएको देखिन्छ ।
यसैगरी, दोस्रो बजारमा अनलाइन कारोबारीकै कारणसमेत थोरै मार्जिनमा लगानीकर्ताहरु आपसमा मोलमोलाई गरिरहेका छन् ।
अनलाइन कारोबारीको संख्या पछिल्लो समयमा ह्वात्तै बढेपछि समेत बजारको रौनक निकै लोभलाग्दो हुँदै गइरहेको जानकारहरु बताउँछन् । नवप्रवेशी लगानीकर्ताहरुको बाक्लो उपस्थितिले समेत आगामी दिन बजार सुखद लयमा दौडिने विश्लेषकहरु दाबी गर्छन् ।
यता, प्राविधिक विश्लेषकहरु भने नेप्से परिसूचक १४७५ आसपास पहिलो प्रतिरोध भएकाले निकै संघर्षपूर्ण रहने र यदि यो विन्दूलाई पार गर्ने हो भने निकट समयमा नै नेप्से परिसूचक १५५० आसपास पुग्ने दाबी सार्वजनिक गरिरहेका छन् ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ९४.३ अंकको उछाल आएको छ । जीवन बीमा समूहमा ४६.३२ अंकको वृद्धि भएको आज व्यापार समूहमा १८.०७ अंक, होटेल्स् समूहमा ०.६३ अंक, जलविद्युत् समूहमा ९.३९ अंक, वित्त समूहमा १.६२ अंक, उत्पादन तथा प्रशोधन समूहमा २६.५६ अंक, अन्य समूहमा २७.१३ अंक र लघुवित्त समूहमा २.३७ अंकको बढोत्तरी आएको छ ।
आज प्रकाशित अरुण काबेली हाइड्रोपावरको निकै लोभलाग्दो वित्तीय विवरणले अन्य हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा समेत सकारात्मक प्रभाव पारेको छ ।
आज बैंकिङ समूहमा ७.४४ अंक, विकास बैंक समूहमा ०.४५ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँमा कारोबार भयो ।
यो दिन नेपाल पुनर्बीमा कम्पनी एक्लैको ३१ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भयो ।
यसैगरी एनआरएन इन्फ्रास्टक्चरको ११ करोड ७५ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ७ करोड ४० लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ३२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६९ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ४ करो.ड ३७ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सको ३ करोड ४१ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ९७ लाख रुपैयाँ र फस्र्ट माइक्रोफाइनान्सको २ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउनेहरु
आज एनआरएन इन्फ्रास्टक्चरका सेयरधनीहरुले धेरै कमाए । यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो ।
त्यस्तै नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीहरुले पनि राम्रै कमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो।
यो दिन तारागाउँ रिजेन्सी होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago