- जीवन बिष्ट
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु हुने भएको छ।
स्वास्थ्य मन्त्रालयले देशभरिका १५ अस्पताल स्वीकृत गरेको थियो। ‘त्यसको अनुमति हामीले पनि पाएका थियौँ। त्यहीअनुसार हामीले आन्तरिक तयारी सुरु गरेर सूचना जारी गरेका छौँ’, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने, ‘अब हामी प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सक्छौँ।’
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धानात्मक उपचार सुरु गरिएको श्रेष्ठले बताए। ‘जटिलता किसिमको कोरोनाको बिरामी आएमा हामी एकैपटक पाँचजनासम्म बिरामीलाई यो विधिबाट उपचार गर्न सक्छौँ’, उनले भने।
यसरी हुन्छ उपचार
कोरोना लागेर निको भएको १४ दिनपछि व्यक्तिको रगतमा एन्टीबडी निर्माण हुन्छ। ‘त्यस्ता व्यक्तिको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमण भएको व्यक्तिलाई दिइन्छ’, सेती प्रादेशिक अस्पतालको कोभिड १९ विभागका प्रमुख डा. शेरबहादुर कमरले भने, ‘रिकभर्ड प्लाज्माले भाइरसलाई न्युट्रलाइज गर्छ।’
कमरका अनुसार कोरोना संक्रमित भएर निको भएका व्यक्तिको रगतमा रोगसँग लड्न सक्ने एन्टीबडी हुन्छ। ‘यो भाइरसलाई मार्न सक्ने औषधि नबनेको अवस्थामा रेडिमेड एन्टीबडी राख्ने गरिएको छ’, उनले भने, ‘कोरोनामुक्त हुने बेला रगतमा बनेको एन्टीबडीले भाइरसलाई मारिसकेको हुन्छ। निको भइसकेको व्यक्तिको शरीरबाट लिएको रगतबाट प्लाज्मा छुटाइन्छ। त्यही प्लाज्मालाई कडा खाले लक्षण भएको संक्रमितको शरीरमा रगत चढाएजस्तै राखिन्छ। अनि त्यसले प्रभावकारी ढंगले काम गर्छ र संक्रमित कोरोनामुक्त हुन मद्दत पुग्छ।’
प्लाज्मा थेरापीका लागि आफूहरुले आन्तरिक तयारी गरिसकेको डा कमर बताउँछन्। ‘अहिले त्यस्ता जटिल किसिमका संक्रमित छैनन्। संक्रमितलाई आवश्यकताका आधारमा हामी यो विधिबाट उपचार गर्छौं’, उनी भन्छन्।
सबै संक्रमितलाई यो विधिबाट उपचार गरिँदैन। जटिल किसिमका संक्रमितले मात्रै यो विधिबाट उपचार पाउने छन्।
मध्यस्थकर्ताको भूमिकामा रेडक्रस
बिरामीको अवस्था हेरेर चिकित्सकहरुले रेडक्रससँग समन्वय गर्नेछन्। कोरोना संक्रमितलाई प्लाज्मा थेरापी विधिको आवश्यकता परेमा संक्रमितको उपचारमा संलग्न चिकित्सकले कोरोनामुक्त भएकाहरूलाई आह्वान गर्छन्। त्यसपछि रक्तदाता सम्पर्कमा आएपछि रेडक्रसका माध्यमबाट रगत संकलन गरी त्यसबाट प्लाज्मा छुट्टाएर संक्रमितलाई उपचार गरिन्छ।
स्वास्थ्य मन्त्रालयको गाइडलाइनअनुसार आवश्यकताअनुसार प्लाज्मा बनाएर आफूहरुले सम्बन्धित अस्पतालमा उपलब्ध गराउनले रेडक्रस कैलाली सभापति उत्तम जोशीले बताए। ‘हाम्रो सम्पर्कमा कोरोनामुक्त भएकाहरु बस्छन्’, उनले भने, ‘स्वेच्छाले उनीहरूले रक्तदान गर्छन्। उनीहरूको शरीरबाट हामीले २ सय एमएल रगत निकाल्छौँ र त्यसबाट प्लाज्मा छुट्टाउँछौँ। त्यसलाई हामी सुरक्षित तरिकाले ब्लड बैंकमा राख्छौँ र आवश्यकता पर्नेबित्तिकै उपचारका लागी अस्पताललाई उपलब्ध गराउँछौँ ।’
यी हुन् मुख्य चुनौती
यो विधिका लागि कोरोना संक्रमणमुक्त भएको दुई सातापछि मात्रै व्यक्तिले रगत दिन पर्ने डा कमरले बताए। ‘रगत दिनुअघि पनि ती व्यक्तिको पीसीआर परीक्षण गर्नैपर्ने हुन्छ। त्यसमा पनि लिने र दिने व्यक्तिको पनि ब्लड ग्रुप मिल्नुपर्दछ’, उनले भने।
अस्पतालमा कोरोनामुक्त भएकालाई यस्तो खालको रगतको प्लाज्मा आवश्यक छ भनेर आफूहरुले आग्रह गर्ने डा कमरले बताए। ‘कोरोनामुक्त भएर डिस्चार्ज हुने बेलामा हामीले सम्पर्क नम्बर र ठेगाना राखेका हुन्छौँ तर त्यसमा उनीहरूको ब्लड गुप्र राखेका छैनौँ भने अलि चुनौती हुन्छ’, उनले भने।
कोरोनामुक्त भएकाहरु एकै ठाउँमा नहुने हुँदा यसले रगत संकलनमा चुनौती हुन सक्ने रेडक्रस सभापति जोशी बताउँछन्। ‘कोरोनामुक्त भएकाहरु रक्तदानका लागि धनगढीमै आउनुभयो भने हामीले रक्तसञ्चार केन्द्रमै ब्लड डोनेसन गर्छौं, हैन त्यो अवस्था भएन भने हामी इच्छुकको घर–घरमा गएरै भए पनि रगत संकलन गर्छौं’, जोशीले भने।
जोशीका अनुसरा दुई–चारजना कोरोनामुक्त व्यक्ति सम्पर्कमा आइसकेका छन्। ‘अब उहाँहरूको रगत संकलन गरी हाम्रो ब्लड बैंकमा राख्छौँ, यहाँ धनगढीमा आवश्यकता परे यही खपत गराउँछौँ र यहाँ यो विधि आवश्यक नै नभएमा हामीले देशका अन्य स्थानमा पठाउँछौँ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago