काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटका साथ बजार बन्द भएको छ। 

अर्थमन्त्रीबाट डा युवराज खतिवडाको बहिगर्मनपछि बजार बढ्ने आशा गरेका लगानीकर्ताहरु आज नेप्से परिसूचकमा आएको गिरावटले निराश बनेका छन्। खतिवडाले गत शुक्रबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। अर्थमन्त्री खतिवडाकै नाम लिएर बजारमा चलखेल गर्न खोज्ने र बजारलाई उत्तारचढाव गराउन खोज्ने गिरोहहरुलाई समेत आज निकै ठूलो झट्का लागेको छ। 

विगत १ महिनादेखि निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक आज १०.४५ अंकको गिरावटका साथ १४९९.९७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५४ अंकको गिरावटसँगै ३०२.१९ को विन्दुमा सीमित बनेको छ। 

करिब डेढ सय अंकको बढोत्तरीमा स्मार्ट लगानीकर्ताहरुले योजनामुताबिक नै गत बिहीबार र आज आइतबार सेयर भटाभट बिक्री गरी प्रफिट बुक गरेकै कारण समेत बजार करेक्सन भएको विश्लेषकहरुको भनाइ छ। भदौ २० मा अर्थमन्त्री युवराज खतिवडाको राजीनामालाई ग्रान्ड डिजाइन नै बनाइरहेका केही स्टक ब्रोकर र ठूला लगानीकर्ताहरुले बजारमा सेयरको आपूर्ति बढाइरहेको र अब आगामी केही दिन बजारमार्फत सेयर नउठाउने योजनाअनुसार नै प्रफिट बूक गरी सुरक्षित रहेकै कारणसमेत बजार आगामी दिनमा घट्ने विश्लेषकहरुको दाबीसमेत छ।

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छायो भने बाँकी १० वटामा रातो पोतियो।

यो दिन व्यापार समूहमा २२.६३ अंकको उछाल आयो भने म्युचुअल फन्ड समूहमा ०.०१ अंकको वृद्धि भयो।

आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहमा ४०.४३ अंकको गिरावट आएको छ। जीवन बीमा समूहमा २६.३३ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ८.१४ अंक, होटेल्स् समूह २५.६५ अंक, विकास बैंक समूह २०.८ अंक, जलविद्युत् समूह ५.७४ अंक, वित्त समूह २ अंक, निर्जीवन बीमा समूह २५.६१ अंक, अन्य समूह १२.६५ अंक र लघुवित्त समूह १०.२७ अंकले घटेको छ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९१ कम्पनीका ७० लाख ३८ हजार ९९० कित्ता सेयर २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँमा कारोबार भयो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो। यो कम्पनीको मात्रै ४० करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यस्तै नेपाल बैंकको ११ करोड ७३ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १० करोड १ लाख रुपैयाँ, अरुण काबेलीको ८ करोड ८३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ८ करोड २५ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ८४ लाख रुपैयाँ, नागरिक लगानी कोषको ७ करोड ८३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड २ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ६ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र गुमाउनेहरु

आज ४ जलविद्युतसहित ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन उन्नति सहकार्य लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर, राधी विद्युत् कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

यो दिन एनआरएन इन्फ्रास्टक्चरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो।