काठमाण्डौ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले विकास गरेको भ्याक्सिन उत्पादन गर्ने जिम्मा लिएको कम्पनी एस्ट्राजेनेले न्यून मूल्यमा सर्वसाधारणलाई भ्याक्सिन उपलब्ध गराउने जनाएको छ। कम्पनीले यो भ्याक्सिनबाट कुनै किसिमको लाभ लिने कोसिस नगर्ने पनि प्रस्ट पारेको छ।

गत महिना मेक्सिकामा एस्ट्राजेनेका अधिकारीहरुले ल्याटिन अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ डलर (करिब ४७० रुपैयाँ) भन्दा कम हुने बताएका थिए। भारतमा यो भ्याक्सिन बनाउने जिम्मा लिएको सिरम इन्स्टिच्युटले भारत लगायत विकासशील देशहरुका लागि यो भ्याक्सिन ३ डलर (३५० रुपैयाँ) सम्म उपलब्ध हुने जनाएको छ।

उता युरोपमा भने यो भ्याक्सिनको मूल्य २.५ युरोसम्म हुन सक्ने बताइएको छ। 

गत अगस्टमा यो भ्याक्सिनका लागि अस्ट्रेलियाले पनि एस्ट्राजेनेसँग सम्झौता गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने यो भ्याक्सिन आफ्ना नागरिकलाई निःशुल्क लगाइने बताएका छन्। तर अस्ट्रेलियाली सरकारले भ्याक्सिन उत्पादन गर्ने कम्पनीलाई भने कति मूल्य तिर्छ भन्ने कुरा खुलिसकेको छैन। 

यो भ्याक्सिन सन् २०२१ को मध्यसम्म उपलब्ध हुने बताइएको छ। 

हाल विश्वभर ३४ कम्पनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन बनाइरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ। यीमध्ये सातवटा तेस्रो चरणको क्लिनिकल ट्रायलमा पुगिसकेका छन्। – एजेन्सी