काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को ५४ औं वार्षिक साधारणसभा र निर्वाचनको ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघका अध्यक्ष भवानी राणा समक्ष सुझाव प्रतिवेदन सोमबार पेश गरेको छ । 

गएको साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको १७ औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो । समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर, स्वास्थ्य सम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको थियो । समितिले प्राप्त कार्यादेश अनुसार आफ्नो कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणा समक्ष प्रतिवेदन पेश गरेको हो । 

प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशनहरू पालना गरी क) सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा, ख) जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा र ग) कम्प्युटराइज/ई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाइएको महासंघले जनाएको छ । 

समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरूणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट ई. बिनोद ढकाल र सुनिल गोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रञ्जितराज आचार्य थिए । 

समितिले सुझाएका तीनवटा मोडालिटीहरुको विषयमा छलफल गरी आवश्यक निर्णयमा पुगिने महासंघले जनाएको छ ।