काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई नेप्से अनलाइन प्रणाली सिस्टम(नट्स) र ट्रेडिङ मेनेजमेन्ट सिस्टम सेग्रिगेट(एकअर्कासँग अलग राख्न) गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय टीएमएसमा धेरै प्राविधिक समस्या खडा भई सहजतापूर्वक सेयर खरिदबिक्रीमा अवरोध भएकाले आज बिहीबार धितोपत्र बोर्डले नेप्सेलाई बैठकमा डाकेको बोर्डका अध्यक्ष डा.भीष्मराज ढुंगानाले जानकारी दिए । 'हामीले नट्स र टीएमएसलाई सेग्रिगेट गर्न भनेका छौं',ढुंगानाले बिजशालासँग भने-'आज नेप्सेलाई बोर्डमै बोलाएर अविलम्ब प्राविधिक समस्या निराकरण गर्न निर्देशन दिएका छौं ।'
बैठकमा सहभागी नेप्सेले टीएमएसमा देखिएको प्राविधिक समस्या हल गर्न एक प्राविधिक कमिटी नै गठन गरेको उद्धृत गर्दै बोर्डका अध्यक्ष ढुंगानाले अनलाइन कारोबार प्रणालीमा पछिल्लो समय आइरहेको समस्याको विषयमा बोर्ड गम्भीर रहेको बताए ।
यता, टीएमएसको क्षमता बढाउन आवश्यक रिसोर्सका लागि लगानी गरेतापनि लगातार दिनानुदिन सेयर कारोबारमा समस्या आइरहेको ब्रोकरहरुको भनाइ छ ।
स्टक ब्रोकरहरु भने टीएमएसमा आइरहेको समस्याका कारण ध्यान एकीकृत गर्न नसकिरहेको र सेयर किनबेचमा गडबड हुने, अनि क्लोजआउटमा पर्ने सम्भावनासमेत प्रबल भइरहेको तर्क गर्छन् । खास समस्या किटान भएको खण्डमा ब्रोकरहरुले आवश्यक लगानी गर्न पछि नहट्ने दाबी गरेका छन् ।