काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा समसामयिक विषयमा छलफल गरेकी छिन् ।
विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित रहेको थियो ।
परिसंघका पधाधिकारीहरुले राष्ट्रपतिसमक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्थाहरु अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नुभन्दा कर्मचारीहरु र कामदारको मनोवल उच्च बनाई सुरक्षा उपायहरु अवलम्बन गरी कोभिडको साथमा नै उद्योग व्यवसाय तथा बजारहरु सञ्चालन गर्नुपर्ने माग राष्ट्रपति समक्ष राखेका थिए ।
त्यसैगरी छलफलमा उद्योग प्रतिष्ठानहरुले राजश्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको र यसअघि पनि उल्लेख्य राजश्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सिर्जना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधिभन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेको थियो । यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजश्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीहरुलाई सहज हुने धारणा परिसंघको रहेको थियो ।
छलफलमा उद्योग व्यवसायहरु पूर्ण सञ्चालनको माग गर्दै परिसंघका पदाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मज्दुरहरुलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको सक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायहरु प्रतिवद्ध रहेको जानकारी गराएका थिए ।
परिसंघले यस्तो विषम परिस्थितिमा उ्रद्योगमा कार्यरत कर्मचारी र कामदारहरुको हौसला बढाई काममा लगाउनु पर्ने धारणा राख्दै यदि उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमाकन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पिसिआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको छ ।
कोभिडको महामारीबाट पर्यटन क्षेत्रपनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीहरुले राष्ट्रपतिसमक्ष जानकारी गराएका थिए ।
पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नको लागि राष्ट्रपति समक्ष अनुरोध गरेको थियो । कुनै पनि पर्यटक नेपाल प्रवेश गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने र तीन दिनको क्वारेन्टाइन पछि सम्बन्धित पर्यटकको पिसिआर टेष्ट गरी परीक्षण नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनु पर्ने सम्बन्धमा छलफल भएको थियो ।
राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेको निजीक्षेत्र कोभिडको महामारी पछि एकदमै गंम्भिर परिस्थितिबाट गुज्रिरहेको राष्ट्रपति समक्ष जानकारी गराउँदै आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउनको लागि लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्नु पर्ने धारणा परिसंघको रहेको थियो । यदि कुनै क्षेत्रमा सक्रमण फैलिएमा संक्रमितहरुको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्रमात्र लकडाउन गर्नु पर्ने जसबाट उद्योग व्यवसायहरुलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन राष्ट्रपति समक्ष अनुरोध गरेको थियो ।
संक्रमणलाई रोक्नको लागि सुविधा सम्पन्न उपचार केन्द्रहरुको स्थापना, राम्रो क्वारेन्टाइन र आइसोलेशनको व्यवस्था गर्नु पर्ने धारणा परिसंघको थियो । यसको लागि निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु तथा होटलहरुलाई आवद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेशनका सेवाहरुनिर्वाधरुपमा प्रदान गर्ने वातावरण बनाइदिनको लागि राष्ट्रपति समक्ष अनुरोध गरेकोछ ।
छलफलमा राष्ट्रपतिबाट उद्योगी व्यवसायीहरुको सुझावहरुलाई सकारात्मक रुपमा लिई त्यसको कार्यान्वयनमा पनि सहयोग गर्ने धारणा व्यक्त गरेकी थिइन् ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल र निर्वाणा चौधरीको उपस्थिति थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago