काठमाण्डौ । अर्थमन्त्रालय समक्ष नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कार्यकारी प्रमुखहरुले टिएमएसको समस्या समाधान भइसकेको दाबीसहित दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्से प्रमुख चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले सोमबार बिहान छलफलका लागि बोलाएको थियो ।
नेप्सेको कारोबार व्यवस्थापन प्रणाली(टिएमएस)मा भदौ १४, २५ र २८ गते समस्या आएपछि यो विषयमा लगानीकर्ताले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेका थिए । अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थका अधिकारीहरुलाई सेयर बजारको समस्या तत्काल समाधान गर्न भनेका थिए । सोही निर्देशनपछि अर्थका अधिकारीहरुले सेबोन र नेप्सेका प्रमुखलाई छलफलका लागि डाकेका हुन् ।
अर्थका अधिकारीहरुले बारम्बार टिएमएसमा आइरहेको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
छलफलमा सहभागी एक अधिकारीका अनुसार प्रविधिसँग जोडिएको काममा कहिलेकाही सामान्य समस्या आउनु स्वभाविक रहे पनि लगातार एउटै खालको समस्या आउनु अस्वभाविक रहेको भन्दै यस्ता कमजोरी सच्याएर अगाडि बढ्न नेप्सेलाई निर्देशन दिइएको छ ।
सेबोन र नेप्से प्रमुखले पनि आगामी दिनमा यस्ता समस्या नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेप्सेका प्रमुख साउदले भदौ १४, २५ र २८ गतेको समस्या अरु बेलाको भन्दा क्रिटिकल समस्या भन्दै यसको समाधान भइसकेको बताएका छन् ।
पहिला पहिला टिएमएसमा सामान्य समस्या आए पनि १४ गतेको समस्या केही गम्भीर खालको रहेको र त्यो समस्या २५ र २८ गते दोहोरिएकोमा आफूहरु पनि गम्भीर रहेको उनले सो क्रममा बताएका थिए ।
समस्या साच्चिकै समाधान भएको हो ?
नेप्से प्रमुख साउदले तत्कालका लागि समस्या समाधान भएको उल्लेख गर्दै अब टिएमएसमा लगातार यस्तो समस्या नआउने दाबी गरे । ‘हामीले कमजोरी पत्ता लगाएर सुधार गर्ने काम गरिसकेका छौं ।’ उनले भने–‘अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइकोका साथीहरुले पनि इण्डियामा रहेका कम्पनीका मान्छेसँग सपोर्ट लिएर हिजो राति १ बजेसम्म काम गर्नुभएको छ । उहाँहरुले अबदेखि यो समस्या नआउने आश्वासन दिनुभएको छ ।’
नेप्सेले पछिल्लो समय टिएमएस लगायतमा आइरहेको समस्या वाइकोले मात्र समाधान गर्न नसक्ने निश्कर्ष निकाल्दै आन्तरिक रुपमा आइटीका अधिकारी सम्मिलित एउटा टिम पनि गठन गरेको छ । सो टिमले समेत बाँकी समस्याको पहिचान गर्ने र समाधान गर्ने काम गरिरहेको बताइएको छ । ‘हाम्रा सबै सिस्टमहरुलाई अब अपग्रेड गर्दै र समस्या समाधान गर्दै जानेछौं ।’ साउदले बिजशालासँग भने ।
पछिल्लो समय अनलाइन प्रणालीमा यसअघि हुँदै नभएका सुविधाहरु जस्तै डिम्याट इन्टीग्रेसन, रियल टाइममा पेमेन्ट समेत समावेश भएकोले यसले समेत सिस्टममा समस्या ल्याएको हुनसक्ने प्राविधिकहरुले बताएका नेप्सेले जनाएको छ । यसलाई पनि व्यवस्थित गर्ने गरी आवश्यक तयारी भइरहेको उसको भनाई छ ।
इस्टीमेट नमिल्दा समस्या
यसैबीच, नेप्सेले आँकलन गरेभन्दा धेरै ठूलो संख्यामा लगानीकर्ताहरुले अनलाइन सेयर कारोबार गर्न थाल्दा समेत बेला–बेला समस्या आइरहेको नेप्सेको निश्कर्ष रहेको छ ।
स्रोतका अनुसार नेप्सेले पहिला दैनिक कारोबारीमध्ये धेरैमा २० देखि ३० प्रतिशतले मात्र अनलाइन प्रणाली प्रयोग गर्छन् भन्ने सोचेको थियो । तर, लकडाउनपछि खुलेको बजारमा अवस्था ठीक उल्टो भइदियो । ८० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट हुन थाल्यो । यसरी नेप्सेको प्रारम्भिक स्टीमेट नमिल्दा समेत सिस्टम अपग्रेड गर्ने कुरामा केही समस्याहरु देखिएका हुन् ।
‘यसैले हामीले हार्डवेयर र सफ्टवेयरमा भएका कमजोरी खोजी गरी समाधान गरिरहेका छौं । धेरै समस्या राति नै पहिचान भई समाधान भइसकेको छ । अब बाँकी काम पनि गर्दै जान्छौ ।’–नेप्सेको आइटीका विभागका एक कर्मचारीले भने ।
नट्स र टिएमएस सेग्रीगेट हुने, एपीआईको पैसा लाग्ने
टिएमएसमा समस्या आएपछि धितोपत्र बोर्डले अघिल्लो साता नेप्सेलाई निर्देशन दिंदै नट्स र टिएमएसलाई अलग–अलग बनाउन भनेको थियो । नेप्सेले सो निर्देशन स्वीकार गरी आवश्यक कामहरु पनि गरिरहेको छ । ‘अब नट्स र टिएमएस सेग्रीगेट गरिन्छ ।’ नेप्सेस्थित स्रोतले भनेको छ ।
यस्तै, पछिल्लो समय नेप्सेबाट एपीआई लिएर अनधिकृत रुपमा डेटाको दुरुपयोग गर्नेहरु बढेका र नेप्सेको डेटामा अनावश्यक हस्तक्षेप भइरहेको प्रसङ्ग समेत बाहिर आएको छ। यो विषयलाई समेत नेप्सेले व्यवस्थित गर्ने भएको छ । संभवत यही साताभित्र आइटी पोलिसी कार्यान्वयनमा ल्याउँदै नेप्सेले एपीआई सर्टेन चार्ज लिएर मात्र दिने रणनीति बनाउँदैछ ।
‘एपीआई थर्ड पार्टीलाई जिम्मा दिनसक्छौ वा अलग अलग पनि दिनसक्छौ ।’ नेप्सेका अधिकारीले भने–‘हामीले पछिल्ला समस्याको विषयमा ब्रोकरसँग पनि कुरा गरिरहेका छौं । एपीआईको विषयमा पनि सुझाव मागेका छौं । सबैको सुझाव ग्रहण गरी एक/दुई दिनमै एपीआई लगायतको विषयमा छिनोफानो गर्छौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago