काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले १९ डीपी कम्पनीलाई वेबबेसमा जान एकहप्ते अल्टिमेटम दिएको छ।

सीडीएससीमा आबद्ध ७६ डीपी कम्पनीमध्ये हाल ५७ डीपी वेबमा आधारित अपग्रेड भइसकेका छन्। बाँकी १९ वटा डीपी कम्पनीलाई समेत सात दिनभित्र वेबबेसमा अपग्रेड गर्न निर्देशन दिइएको सीडीएससीले जनाएको छ। 

यसअघि डेस्कटपमा आधारित सीडीएससीअन्तर्गतका सबै डीपी सेवाहरु अब वेबमा आधारित हुने भएको हो। सीडीएससीबाट डीपी सेवाका निम्ति अनुमतिप्राप्त स्टक ब्रोकर कम्पनी र बैंकका सहायक कम्पनी मर्चेन्ट बैंक (क्यापिटल) का डीपी सेवा अब वेबमा आधारित हुँदा बाँकी १९ डीपी कम्पनीहरुलाई आवश्यक पूर्वाधार तयार गर्न भनिएको छ। 

सीडीएससीले कोर एप्लिकेसनलाई माइग्रेट गरी वेबमा आधारित बनाई थप प्रविधिमैत्री बनाउने सीडीएससीको योजना छ। 

छिमेकी मुलुक भारत र बंगलादेशमा क्रमशः २ र ४ वर्षदेखि वेबमा आधारित डीपी सेवा छ। वेबमा आधारित डीपी सेवा कार्यभार कम भई मितव्ययी हुने र प्रविधिमा फड्को मार्न सघाउ पुग्ने बताइएको छ। 

डेटाहरु पनि केन्द्रीकृत हुँदा डीपी कम्पनीका सेवा प्रवाहमा समस्या नहुने सीडीएससीको तर्क छ।