काठमाण्डौ । सेयर बजारमा नरुचाइएका पूर्वअर्थमन्त्री डा युवराज खतिवडा राजदूत भएर अमेरिका जाने लगभग पक्का भएसँगै यो साता सेयर कारोबारको अन्तिम दिन बिहीबार बजारमा उछाल आएको छ।

आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ भने कारोबार रकमसमेत बढेर झन्डै ३ अर्ब रुपैयाँ पुगेको छ। आज नेप्से परिसूचक २०.६१ अंकको बढोत्तरीका साथ १५७१.०४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९८ अंकको बढोत्तरीका साथ ३१०.१५ को उचाइमा पुगेको छ।

आज हाइड्रोपावरमा बिक्री चाप तथा आपूर्तिको बाढी आएपछि लगानीकर्ता अन्य समूहमा सिफ्ट भएका छन्। आज बैंक समूहसमेत चलेका हुनाले कारोबार रकममा वृद्धि देखिएको हो।

आज बजारको सुरुआत खासै उत्साहजनक थिएन। सामान्य अंकका घटबढमा रुमलिएको बजार मध्याह्नपछि भने उछालको गतिमा दौडियो। सो समयभन्दा केहीअघि मात्र सरकारले खतिवडालाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णयसम्बन्धी खबर प्रकाशित भइसकेको थियो। यो खबरपछि बजार सामान्य घटबढमा रुमलिए पनि समग्रमा उछालकै गतिमा दौडिएको देखिन्छ।

विश्लेषकहरु पनि बजारमा दोहोरो अंकको उछाल आउनुमा यही नै प्रमुख कारण रहेको ठम्याउँछन्। अर्थमन्त्री पदबाट हटे पनि घोस्ट अर्थमन्त्रीका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार भएका उनी अमेरिकी राजदूत हुने पक्का भएको खबरले सेयर बजारमा हरियाली छाएको उनीहरुको विश्लेषण छ। 

आज हाइड्रोपावर र म्युचुअल फन्डमा करेक्सन आउँदा अन्य सबै समूहमा हरियाली छाएको छ। विशेषगरी लगानीकर्ताहरु आज विकास बैंकतर्फ आकर्षित भएका छन्। 

हाइड्रोपावर कम्पनीका सेयरमूल्य निरन्तर उकालो लागिरहेकोमा आज भने ब्रेक लागेको छ। कुनै पनि कम्पनीको सेयरमूल्य बढ्दै जाँदा बिक्रीचाप हावी हुने र आपूर्तिले नै बजारमूल्य तय हुने सिद्धान्तअनुरुप नै अब हाइड्रोपावर कम्पनीहरुमा आपूर्ति आउने र लगानीकर्ताहरु आगामी साता बैंक र इन्स्योरेन्स समूहतर्फ झुम्मिने विश्लेषकहरुको दाबी छ। 

आज बैंक अफ काठमाण्डौले लगानीकर्तालाई सरप्राइज लाभांश घोषणा (बोनस १३ प्रतिशत र ३ प्रतिशत लाभांश) घोषणा गरेकाले समेत लगानीकर्ताहरुको अबको झुकाव बैंकिङ समूह हुने विश्लेषकहरु जिकिर गर्छन्।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। 

यो दिन बीमा समूहमा उछाल आएको छ । आज निर्जीवन बीमा समूहमा ३३२.४१ अंक र जीवन बीमा समूहमा १५७.३३ अंकको बढोत्तरी भएको छ। विकास बैंक समूह ६५.४८ अंकले बढेको आजको दिन बैंकिङ समूहमा १८.८६ अंक, व्यापार समूहमा १९.५३ अंक, होटेल्स् समूहमा ८.०८ अंक, वित्त समूहमा ५.७९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४९.७९ अंक, अन्य समूहमा २.९७ अंक र लघुवित्त समूहमा २०.८१ अंकको बढोत्तरी आएको छ।

आज जलविद्युत् समूह २४.७६ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९३ कम्पनीका ९९ लाख ३० हजार ८३० कित्ता सेयर २ अर्ब ८० करोड ७७ लाख ८ हजार १३७ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन कोरोना संकटका बेला पनि गत आर्थिक वर्षका लागि आकर्षक लाभांश प्रस्ताव गरेको बैंक अफ काठमाण्डूको सेयर लगानीकर्ता झुम्मिँदा कारोबार रकम सर्वाधिक १४ करोड ७६ लाख रुपैयाँ बढीको भएको छ। यो बैंकले गत आर्थिक वर्षका लागि १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जब कि कोरोनाकालमा अधिकांश बैंकहरुले १० प्रतिशतमुनि नै लाभांश प्रस्ताव गर्ने अनुमान गरिएको छ। 

शिखिर इन्स्योरेन्सले १३ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार गरेको यो दिन अरुण भ्याली हाइड्रोपारको १२ करोड ३० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ४१ लाख रुपैयाँ, नेको इन्सुरेन्सको ७ करोड ७९ लाख रुपैयाँ, कुमारी बैंकको ६ करोड ७५ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ६ करोड ७२ लाख रुपैयाँ, प्रभु बैंकको ६ करोड ३६ लाख रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड २८ लाख रुपैयाँ र नेपाल बैंकको ६ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यो दिन सप्तकोशी विकास बैंकको सेयरमूल्यमा १० प्रतिशत र कामना सेवा विकास बैंक, मल्टीपर्पस फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज बैंक अफ काठमाण्डूको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भएको छ। 

यो दिन सबैभन्दा गुमाउने १० कम्पनीहरुमा सबै हाइड्रो समूहका छन्। जसमा माउन्टेन हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो। यसैगरी पञ्चकन्य माई हाइड्रोपावर र हिमालय ऊर्जा विकास कम्पनीको सेयरमूल्यमा पनि ६ प्रतिशत बढीको गिरावट आएको छ।