घडीको सूइँको दिशामा क्रमशः छोटेलाल रौनियार, उत्तम अर्याल, राधा पोखरेल र संरक्षणा चौधरी ।
काठमाण्डौ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल बजार पूँजीकरण, सर्वाधिक सेयर कारोबार संख्या र कारोबार रकमले रेकर्ड ब्रेक गरेका छन्।
बजार पूँजीकरण २४ खर्ब रुपैयाँ नजिक रहेको नेप्सेमा दैनिक कारोबार रकमसमेत ६ अर्ब रुपैयाँ पार गरेको अवस्था छ। नेप्सेको अनलाइन प्रणालीमार्फत मात्रै करिब ९० प्रतिशतले सेयर खरिदबिक्री गरिरहेका छन् भने आगामी दिनमा नेप्सेले नयाँ उचाइ प्राप्त गर्ने र नयाँ रेकर्ड कायम गर्ने बजारवृत्तमा अनुमान र चर्चा हुन थालेका छन्।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले अहिलेको बजार बढाइ स्वभाविक भएको बताए। ‘मैले यसअघि पनि मैले धेरैपटक भन्दै आइरहेको छु कि हामी प्रविधिमा फड्को मारेका कारण अब बजारमा दैनिक कारोबार ७ अर्ब हुन्छ’, रौनियारले बिजशालासँग भने, ‘यो बढाइ त सोचेअनुसार निकै कम हो, बजार अझै बढ्छ। अब नयाँ उचाइ लिने लगभग पक्कापक्की नै छ।’
न्यून ब्याजदर र लगानीकर्ताको उच्च मनोबल र हौसलाले समेत आगामी दिनमा बजार उकालो गतिमै दौडिने रौनियारको दाबी छ। ‘बजारमा लगानीकर्ताको ओइरो लागेकाले समेत बजारले सकारात्मक दिशा तय गर्नेछ’, उनले भने।
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बजार त अझै सोचेजस्तो नबढेको बताउँछन्। ‘बजार अझै बढ्ने गतिमा छ’, उनले भने, ‘बजार वृद्धि स्वभाविक हो, अब नयाँ रेकर्ड राख्छ। आगामी दिनमा बजार सकारात्मक दिशामै जानेछ।’
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल तरलता र अन्य सेक्टरमा लगानीको वातावरण नहुँदा बजार बढेको तर्क राख्छिन्। लाभांश धमाधम आउने बेला भएकाले समेत बजारले उकालो गति तय गरेको उनको ठहर छ। ‘बजार अब बढ्ला कि घट्ला भन्न चाहिँ यसै भन्न सकिन्न। बजारको दिशाबारे भन्न अलिक गाह्रो छ’, उनले भनिन्।
यसैगरी नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरी लगानीकर्ताको मनोबल घट्ने खालको कुनै आधार नभएकाले बजार अन्ततोगत्वा बढ्ने नै जिकिर गर्छिन्। ‘प्रथम त्रैमासका रिपोर्टहरुसमेत औसतमा राम्रै आइरहेको र नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएका कारण बजार बढ्छ’, उनले भनिन्, ‘बीच–बीचमा सानातिना करेक्सन आए पनि बजार डेफिनेट्ली बढ्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago