काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालभर ३० लाख मानिस संक्रमित भइसकेको हुन सक्ने अनुमान गरिएको छ।

स्वास्थ्य मन्त्रालय हालै गरेको परीक्षण सर्भेक्षणको प्रारम्भिक नतिजाले झन्डै ३० लाख नेपाली कोरोनाबाट संक्रमित भइसकेको हुन सक्ने देखाएको हो। सर्भेक्षणले करिब १० प्रतिशत संक्रमित घरमै बसेकाहरु रहेको देखाएको छ। तर यो १० प्रतिशतको तथ्यांक हाल दैनिकजसो सार्वजनिक हुने संक्रमितको संख्यामा भने नजोडिएको मन्त्रालयले जनाएको छ। किनकि उनीहरु आफैँलाई आफू संक्रमित भएको थाहा नै छैन।

यो सर्भेक्षण विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा गरिएको थियो। जसमा नेपालका सातै प्रदेशका ७७ मध्ये ७५ जिल्लामा रगत परीक्षण सर्भेक्षण गरिएको थियो।

सर्भेक्षणका क्रममा प्रत्येक प्रदेशबाट ४५० वटा नमुना संकलन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यस्तो परीक्षणलाई ‘सेरोसर्भेइलेन्स’ भनिन्छ। यसबाट थोरै संख्यामा परीक्षण गरेर ठूलो संख्यामा अनुमान गर्न सकिन्छ।

यही सेरोसर्भेइलेन्सबाटै नेपाल ३० लाख मानिस संक्रमित भइसकेको अनुमान गरिएको हो। 

महाशाखाका अनुसार यो सर्भेक्षणका क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका मानिसको नमुना संकलन गरिएको थियो। जसमा सबै उमेर समूहमा एन्टिबडी देखिएको छ। 

त्यसो त नेपालमा कोरोनाका ८० संक्रमितमा कुनै लक्षण नै नदेखिएको पाइएको महाशाखाले जनाएको छ। सोही कारणले पनि कतिपयले आफूहरु संक्रमितको पत्तै नपाएका हुन सक्छन्।

त्यसैले समुदायस्तरमा संक्रमण भए नभएको पत्ता लगाउन पनि यो सर्भेक्षणका क्रममा नमुना संकलन गरिएका मानिसहरुको एन्टिबडी जाँचिएको थियो।

सर्भेक्षणले नेपालमा संक्रमितको संख्या निकै बढेको गरिएको थियो। जसमा कोरोना संक्रमणको जोखिममा प्रदेश २ र प्रदेश ३ को काठमाण्डौ जिल्ला बढी रहेको देखाएको छ।

यो सर्भेक्षणको नतिजापछि अब स्वास्थ्य मन्त्रालयले थप विस्तृत अध्ययन गर्ने योजना बनाएको छ। यसका लागि छिटै प्रक्रिया अगाडि बढ्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ। 

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा भने हालसम्म नेपालभर कुल संक्रमितको संख्या २ लाख ४३ हजार २७७ पुगेको छ। जसमा निको हुने संख्या २ लाख २९ हजार ५४ रहेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ। 

हालसम्म नेपालभर १ हजार ६३७ जनाले ज्यान गुमाइसकेका छन्।