काठमाण्डौ । उद्योगी व्यवसायीहरुले केही समयदेखि विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीमा चन्दाआतंक बढेको र व्यवसायिक मनोवल समेत घट्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित टिमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै यस्तो गुनासो गरेको हो । 

नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले जिल्लामा काम गर्ने वातावरण नभएको भन्दै सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव दिए । 

उनले बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग संवोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकतामाथि जोड दिएका थिए । 

गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको जानकारी गराए । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै प्रधानमन्त्रीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडि सारेको कार्ययोजनाको स्वागत गर्दै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधैं तयार रहेको विश्वास दिलाए । 'तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस, के सहयोग गर्नुपर्छ म आफैं पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ ।'-प्रधानमन्त्रीलाई उद्धृत गर्दै महासंघले एक विज्ञप्तिमार्फत जनाएको छ । 

साथै, ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिए । साथै उनले स्वदेशी उत्पादनको प्रवद्र्धनमा लाग्न समेत आग्रह गरे ।

भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको थियो ।