काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमीटेडले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि निश्कासन गरेको आइपीओको आज बाँडफाँड गरेको छ । 

कम्पनीले आयोजना प्रभावितलाई प्रति कित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निश्कासन गरेको थियो । 

मंसिर १७ गतेदेखि पुस १ गतेसम्म आयोजना प्रभावितले आइपीओ खरीदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

आइपीओमा मागभन्दा ५.५२ गुणा बढी आवेदन परेको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ४ हजार ६०४ व्यक्तिबाट १६ लाख ८१ हजार १३० कित्ताका लागि आएका आवेदन मात्र सदर गरिएको थियो । यसबाहेक २०४ जनाबाट आएको १३ हजार ८६० कित्ताका लागि आएको आवेदन विभिन्न कारणले रद्ध गरिएको थियो । 

बुधबार दिउँसो आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा आइपीओ बाँडफाँड गरिएको थियो । जसअनुसार १० देखि ७० कित्तासम्मका लागि आवेदन दिएका सबैले सेयर पाएका छन्। 

यस्तै, ८० देखि अधिकतम कित्तासम्मका लागि आवेदन दिएकाहरुलाई ७० कित्ताको दरले सेयर बाँडफाँड गरिएको छ । यसमध्ये भाग्यमानी १ हजार १७२ जनाले भने ८१ कित्ताको दरले सेयर पाएका छन् ।