काठमाण्डौ । पुँजी बजार सुधारका लागि प्रदेश नं. ५ का लगानीकर्ताहरुले विभिन्न माग राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई मागपत्र बुझाएका छन्। 

प्रदेश ५ सेयर लगानीकर्ता फोरमले विभिन्न ६ बुँदे माग राख्दै हिजो मंगलबार अर्थमन्त्री पौडेललाई मागपत्र बुझाएको हो। मागपत्रमा प्रदेशस्तरमा नयाँ ब्रोकर लाइसेन्स खुला गर्नुपर्ने, वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स उपलब्ध गराउनुपर्ने र नेपाल धितोपत्र बोर्ड (सेबोन) तथा नेप्सेका प्रादेशिक संरचना निर्माण गर्नुपर्ने माग अघि सारिएको छ।

यसैगरी पूर्णस्वचालित अनलाइन कारोबार प्रणालीको व्यवस्था मिलाउनुपर्ने माग गरिएको प्रदेश नं. ५ का लगानीकर्ताहरुले गरेका छन्। उनीहरुले समयमै वित्तीय विवरण सार्वजनिक नगर्ने र समयमै वार्षिक साधारणसभा नगर्ने कम्पनीहरुलाई कारबाही गर्न पनि मागपत्रमा सुझाव दिएका छन्।

लिलामी सेयर खरिद गर्न अनलाइन प्रणालीको व्यवस्था गर्नुपर्ने माग पनि लगानीकर्ताहरुको छ।