काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार एकल अंकले बढेको छ।
हिजो सामान्य करेक्सन आए पनि आज सुरुआती चरणमा घटेको बजार मध्याह्नबाट उकालो लागे पनि अन्तिम चरणमा ८.३४ अंकले बढेर बजार बन्द भयो। आज परिसूचक बढेर २४७५.२६ विन्दुमा उक्लिएको छ भने राम्रा र बलिया कम्पनीको सूचक पनि १.६८ अंकको बढोत्तरीका साथ ४५४.०२ को उचाइमा पुगेको छ।
आज कारोबार रकम भने घटेर साढे ७ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरेले आजको आमहड्तालले कारोबार रकम घटे पनि बजार बढोत्तरीमा कुनै प्रभाव नपर्ने बताए। ‘विगतमा पनि ठूलठूला आन्दोलन भएकै थिए, त्यतिखेर बजार झनै बढेको थियो’, उनले भने, ‘अहिले त बजारमा उछाल नै आइरहेको छ, यस्ता सानातिना आन्दोलनबाट लगानीकर्ताहरु डराइहाल्नुपर्ने अवस्था छैन। यसले झन् बजारमा अवसर सिर्जना गर्छ।’
बुलिस बजारमा सानातिना करेक्सन आउँदैमा आत्तिनुपर्ने अवस्था नहुने घिमिरेको तर्क। ‘यस्ता करेक्सनले बजारलाई झनै मजबुत बनाउँछ, लगानीकर्ताहरुलाई कमाउने अवसर सिर्जना गर्छ’, उनले भने, ‘बाहिरी कुराभन्दा पनि लगानीकर्ताहरुले राम्रा र बलिया कम्पनी छानेर लगानी गर्दा रिटर्न राम्रै पाउनेछन्।’
आजको बढाइले लगानीकर्ताहरुको मनोबल झनै बलियो बनेको भनाइ पनि घिमिरेको छ। ‘आज कारोबार घटे पनि यसलाई सामान्य नै लिनुपर्छ’, उनले भने, ‘किनकि अहिले बजारमा स्मार्ट लगानीकर्ता छिरेका छन्, उनीहरु अहिलेको अवस्थालाई राम्ररी बुझेका छन्। केही लगानीकर्तामा बजार भविष्य के होला भनेर रहेको द्विविधा पनि मेटिसकेको छ जस्तो मलाई लाग्छ।’
अर्का बजार जानकार भेषराज पौडेल अहिले बजार लगभग २५०० विन्दु नजिकमात्र पुगेकोले लगानीकर्ताहरुलाई कमाउने अवसर अझै बाँकी रहेको तर्क गर्छन्। ‘बुलिस बजारमा सेक्टरवाइज बढोत्तरी हुने हो’, उनले भने, ‘त्यसैले अझै थुप्रै सेक्टर बढ्न बाँकी छन्, यस्तो बेला लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियो परिवर्तन गर्दै लगानी गरेमा राम्रो प्रतिफल हासिल सक्छन्।’
बजार ट्रेन्डलाई बुझेर लगानी गर्दा राम्रो हुने पौडेलको भनाइ छ। ‘अहिले पुँजी बजार व्यापक विस्तार भएकोले बजार ठूलाका हातमा मात्रै छ भनेर साना लगानीकर्ताहरु डराउनुपर्ने अवस्था छैन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।
यो दिन लघुवित्त समूह सबैभन्दा बढी १४६.३१ अंकले उकालो लागेको छ। व्यापार समूह १३१.६६ अंकले बढेको आज जलविद्युत् समूहमा ३६.८८ अंक, निर्जीवन बीमा समूहमा ७८.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८४.०७ अंक र अन्य समूहमा १.५४ अंकको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै ६९.२६ अंकले ओरालो लागेको छ। होटेल्स् समूह २०.६५ अंकले घटेको आज बैंकिङ समूहमा ७.४३ अंक, विकास बैंक समूहमा ६.३ अंक, वित्त समूहमा १०.९७ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०१ कम्पनीका १ करोड ८७ लाख १९ हजार ३८७ कित्ता सेयर ७ अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ रुपैयाँमा कारोबार भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। डिप्रोक्स लघुवित्तको २४ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको २० करोड ५६ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १९ करोड ५० लाख रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तको १८ करोड ९७ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सको १६ करोड ८९ लाख रुपैयाँ, नेपाल टेलिकमको १६ करोड ६२ लाख रुपैयाँ, अरुण काबेली पावरको १६ करोड ५८ लाख रुपैयाँ, सिबिल बैंकको १५ करोड ८३ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १४ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १० वटा लघुवित्त र ५ वटा जलविद्युत् कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यी १५ कम्पनीमा आज सकारात्मक सर्किट लागेको छ। सूर्योदय लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेसनल माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, किसान लघुवित्त, ग्रिन विकास लघुवित्त, सिनर्जी पावर, माउन्टेन हाइड्रो, राधी हाइड्रो, पाँचथर पावर कम्पनी, स्वाभिमान लघुवित्त र बरुण हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो। यो दिन फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा बढेको छ।
आज लगातार पोजेटिभ सर्किट लाग्दै आएको प्रभु लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाएका छन्। आज यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशतभन्दा बढीले घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago