– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा दैनिक रौनक कायम रहेकै बेलामा साताको पहिलो कारोबार दिन आइतबार सधैँझैँ हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने क्रमलाई जारी राखेका छौँ। 

यसै सिलसिलमा राजधानीको मुटु तथा मुख्य व्यापारिक केन्द्र नयाँसडकस्थित ब्रोकर नं. ५ मार्केट सेक्युरिटिज प्रालिमा बिहान ११ बज्दा नबज्दै पुग्यौँ। बाहिरी वातावरण निकै चिसो रहे पनि ब्रोकर हाउसमा भने निकै गर्मी महसुस हुन्थ्यो। यत्तिकैमा ब्रोकर हाउसको भर्याङनजिकै बसेका एक लगानीकर्ताले भने, ‘बजार त २५ अंकले पो बढिसक्यो त ! बजार त बढ्ने नै भयो।’

सँगै उभिएका एकजना ढाकाटोपी लगाएका उमेरले परिपक्व लगानीकर्ताले आफ्नो मोबाइलमा बजार हेर्दै प्रफुल्लित मुद्रामा भने, ‘बजार त निकै बढ्ने भयो।’

त्यहीँ रहेका अर्का लगानीकर्ता उठेर ‘माइक्रोको सेयर किन्नुपर्छ’ भन्दै दगुरे। त्यत्तिकैमा अर्काले भने, ‘होइन यो गोर्खाज् फाइनान्सको के छ ?’
त्यहाँ केही समयको बसाइपछि हामी सिंहदरबार मोडस्थित ब्रोकर नं. ३२ प्रिमियर
सेक्युरिटजमा पुग्दा लगानीकर्ताहरु आफ्नै मोबाइलमा बजार हेर्नमै मस्त र व्यस्थ देखिन्थे। त्यहाँ पनि माइक्रोको नै चर्चा थियो। त्यसैमा एक लगानीकर्ताले भने, ‘अघिल्लो हप्ता ‘उन्नति’ बेचेर घाटा पो भो नि ! बेचेको बढ्यो, किनेको त्यति बढेकै छैन।’

उनीसँगै बसेका तर फोनमा कुरा गर्दै गरेका अर्का लगानीकर्ताले ठोकुवा गरे, ‘अब चिलिमेको सेयर बढ्छ।’

आफूलाई किन्न सल्लाह दिनेलाई धन्यवाद दिँदै अर्का लगानीकर्ताले भने, ‘साञ्जेन तथा रसुवागढी आयोजना निर्माण सकिन आँटेको छ। यसको मूल्य त १५ सय रुपैयाँभन्दा माथि पुग्छ। आज सर्किट पनि हान्छ कि के हो ?’

ती लगानीकर्ताको आडमा बसेकाले आजको लघुवित्तको राम्रा कम्पनी बढाइले प्रतिफलको हिसाबले २५ सय रुपैयाँमा किने पनि फाइदै हुने हिसाब गर्दै थिए। 

केहीबेरको बसाइपछि हामी सिंहदरबार मोडमा नै रहेको अर्को ब्रोकर नं. ५७ आर्यतारा सेक्युरिटिजमा पुग्यौँ। त्यहाँ नयाँ तथा पुराना लगानीकर्ता खरिदबिक्रीमै मस्त थिए। केही नयाँ लगानीकर्ता ‘कसरी किनबेच गर्ने तथा पैसा कसरी आईपीएसबाट तिर्ने’ भनेर सल्लाह गर्दै थिए। पुराना लगानीकर्ता चाहिँ ‘बजारबाट राम्रै पैसा भो, जाम दाउन्नेतिर घुम्न’ भन्दै थिए। उनीहरुले अघिल्लोपटक पनि दाउन्नेमा निकै रमाइलो भएको चर्चा गर्दै थिए।
त्यहाँबाट हामी अनामनगरको गणेशथाननजिक रहेको ब्रोकर नं. ४६ कालिका स्टक ब्रोकर पुग्दा लगानीकर्ता बजार हेर्नमै मस्त थिए। बजार बढेकोमा खुसी हुँदै त्यहाँ उपस्थित दुई महिला लगानीकर्ताहरु भने छोराले विदेशमा कमाएको पैसा लगानी गरेको केही समयपछि बेचेर घर बनाउने योजना सुनाउँदै थिए। 

अर्का एक पुरुष लगानीकर्ताले भने इन्स्योरेन्स र एचडीएलमा राम्रै नाफा गरेको भन्दै थिए। अर्को एक लगानीकर्ताले भने ‘एचडीएल त बाठाले बेचिसके’ भन्दै थिए। 

त्यहीँ उपस्थित एक पाका लगानीकर्ता भने अरुसँग ‘अरुण काबेलीले आगामी वर्ष राम्रै लाभांश दिन्छ, किनेर ६ महिनाजति होल्ड गर्न सके राम्रै प्रतिफल आउन सक्छ है’ भन्दै थिए।