काठमाण्डौ । हिजो दोहोरो अंकको करेक्सन आएको बजार आज बुधबार एकल अंकको बढोत्तरीका साथ बन्द भएको छ।
आज नेप्से परिसूचक ८.६६ अंकको बढोत्तरीका साथ २५४३.०३ को विन्दुमा उक्लिएको छ। यो दिन राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५६ अंकले बढेर ४६५.१३ को उचाइमा पुगेको छ।
आज सेयर कारोबार भने थोरै घटेर साढे ७ अर्ब रुपैयाँ माथि भएको छ।
बजार जानकार प्रेम ओली आजको बढाइले बजार सकारात्मक गतिमै अगाडि बढिरहेको पुष्टि हुने बताउँछन्। ‘हिजोको करेक्सन सामान्य थियो, अल्पकालीन लगानीकर्ताहरुले प्रफिट बुक गर्दा हिजो करेक्सन आयो’, उनले भने, ‘तर आज बजारमा बैंकिङ तथा वित्त समूहमा चमक देखिएको छ, यसले बजारलाई सकारात्मक गति दियो।’
बैंकहरुको तेस्रो त्रैमासको रिपोर्ट आउँदासम्म बजार ३००० को विन्दु पुग्ने ओलीको अन्ुमान छ। ‘अहिले बैंकहरुले पनि सेयरमा लगानी गरिरहेका, सेयर धितो कर्जासँगै अन्य क्षेत्रमा पनि लगानी आक्रामक ढंगले बढाएका छन्, पुराना कर्जा असुली पनि बढाइरहेका छन्’, उनले भने, ‘यो हिसाबले अब तेस्रो त्रैमासमा बैंकको नाफा अवश्य बढ्ने देखिन्छ।’
कारोबारको हिसाबले हेर्दा पनि बजार बुलिस ट्रेन्डमै रहेको ओलीको भनाइ छ। ‘यो साताको कारोबार हेर्दा ४० अर्ब रुपैयाँभन्दा माथि हुनु भनेको बजार बुलिस ट्रेन्डमै रहेको पुष्टि हुन्छ’, उनले भने।
अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरेले बजारको बाटो बांगोटिंगो नै हुने भएकोले सेक्टरवाइज रुपमा बढोत्तरी भइरहेको बताए। ‘यसको अर्थ बजारमा ठूलो बुल आउँदैछ भन्ने नै हो’, उनले भने, ‘अब बजार ठूलो अंकले बढ्दा सामान्य करेक्सन आउनुलाई स्वाभाविकै मान्नुपर्छ’, उनले भने, ‘यस्ता करेक्सनले बढ्दो बजार सम्हाल्ने काम गर्छन्।’
आउने दिनहरुमा सस्ता वाणिज्य तथा विकास बैंकहरु बढ्ने सम्भावना रहेको घिमिरे बताउँछन्। तर उनले अहिले बजारमा भनिएको जस्तो तरलता संकटको अवस्था नआइसकेको उल्लेख गर्छन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ७ वटा समूहमा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै ६२.१५ अंकले उकालो लागेको छ। होटेल्स् समूह ४४.६ अंकले बढेको आज बैंकिङ समूहमा २६.६१ अंक, विकास बैंक समूहमा १.०१ अंक र वित्त समूहमा ३८.१२ अंकको बढोत्तरी भएको छ।
आजको दिन जीवन बीमा समूह सबैभन्दा बढी ११५.५९ अंकले घटेको छ। व्यापार समूह ९७.६७ अंकले ओरालो लागेको यो दिन जलविद्युत् समूहमा १९.२७ अंक, उत्पादन तथा प्रशोधनमा ६९.११ अंक, अन्य समूहमा ६.२ अंक, लघुवित्त समूहमा ४४.९७ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनी
आज नेप्सेमा सूचीकृतमध्ये १९१ कम्पनीका १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन ग्लोबल आईएमई बैंकको सर्वाधिक ५२ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको ४६ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको आज कुमारी बैंकको ३७ करोड १४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३३ करोड ३७ लाख रुपैयाँ, एनसीसी बैंकको २७ करोड ६५ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको २४ करोड ६६ लाख रुपैयाँ, नेला लाइफ इन्स्योरेन्सको १९ करोड ३३ लाख रुपैयाँ, नेपाल टेलिकमको १६ करोड ४४ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १५ करोड ९६ लाख रुपैयाँ र नबिल बैंकको १५ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन गोर्खाज फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र आईसीएफसी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन साधना लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ६ प्रतिशत बढीले गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago