काठमाण्डौ । हालसम्मकै सर्वाधिक उचाइ २६४० को विन्दुमा नेप्से परिसूचक पुगेपछि केही दिनयता बजारको ओरालो यात्रा जारी छ। बजारको ओरालो यात्रा जारी भएसँगै दैनिक कारोबार रकमसमेत निरन्तर ओरालो लागिरहेको छ।

बजारको पछिल्लो अवस्था र यात्राका विषयमा सेयर बजार विश्लेषक हेमन्त बस्याल अहिलेको बजार बढाइको रफ्तारमा ब्रेक लाग्नुमा लगानीकर्ताहरु धमाधम नाफा बुक गर्नतिर लागेको प्रस्ट हुने बताउँछन्। राजनीतिक तरंगले लगानीकर्ताको आत्मविश्वासमा सानो आँच आएको हुन सक्ने पनि बस्यालको बुझाइ छ।

यसैगरी नेपाल राष्ट्र बैंकले प्रकाशित गरेका रिपोर्ट र राष्ट्र बैंककै आधिकारिकहरुबाट ब्याजदर बढ्न सक्छ भन्ने अभिव्यक्तिले समेत बजार करेक्सनमा गएको बस्यालको ठम्याइ छ। लगानीकर्तामा तरलता अभावको त्रास बढेकाले समेत चनाखो बन्दै नाफा बुक गर्ने दौडमा सेयरको आपूर्ति बढेको उनले जिकिर गरे। 

बजार अब घट्ने अवस्था नरहेको दाबी गरेका बस्यालले थप १–२ दिनपछि भने बजारले उकालो यात्रा तय गर्ने बताए। यही बीचमै पनि कुनै सकारात्मक सूचना आए बजारले उकालो गति लिन थाल्ने उनको दाबी छ। 

स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बजार घट्नुलाई सामान्य करेक्सनका रुपमा लिन्छन्। ‘त्यसैले आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनी भन्छन्, ‘घट्दो बजारमा टर्नओभर कम हुनु राम्रो मानिन्छ। किनकि घट्दो बजारमा टर्नओभर कम हुनु भनेको प्यानिक सेल कम हुनु नै हो।’ 

बजार घट्नुपर्नेमा कुनै तात्विक कारण नभएको सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा फुल्लेल दाबी गर्छन्। ‘ब्याजदर बढाउने अफवाह फैलाउने काम भइरहेको छ तर ब्याजदर बढेको भनी कुनै पनि बैंकले आजसम्म कतै सूचना निष्कासन गरेका छैनन्’, उनले बिजशालासँग भने, ‘बीचमा अनलाइन कारोबार प्रणालीमा आएको समस्याले समेत लगानीकर्ताको मनोविज्ञान प्रभावित भइरहेको छ।’

आइतबारदेखि भने बजारमा सुधार देखिन थाल्ने फुल्लेलले ठोकुवैसमेत गरे।