काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। 

नेप्सेले कारोबार धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै सांग्रिला डेभलपमेन्टको सेय कारोबार आजबाट रोक्का गरेको छ। यसका साथै नेप्सेले के–कति कारणले यस्तो भयो भन्दै तीन कार्यदिनभित्र यसबारे चित्तबुझ्दो जबाफ पठाउन बैंकलाई नेप्सेले निर्देशन दिएका छ। 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ)मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि त्यस्ता सूचना, जानकारी तथा निर्णय नेप्सेमा पेस गर्नुपर्ने र सूचीकृत संगठित संस्थाले आफ्नो वेबसाइटमार्फतसमेत सार्वजनिक गर्नुपर्ने हुन्छ। तर यो बैंकले उक्त व्यवस्था पालना नगरेकोले कारबाही गरिएको नेप्सेले जनाएको छ।

बैंक सञ्चालक समितिको आज बिहान १०ः३० बजे भएको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ। तर बैंकले लाभांश घोषणासम्बन्धी निर्णय दिउँसो १२ः३४ बजे कारोबार चलिरहेको समयमा ई–मेलमार्फत नेप्सेमा पठाएको थियो।