काठमाण्डौ। अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेसनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी  सेवाका लागि सम्झौता भएको छ।

सम्झौतासँगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन्। साथै, निकट भविष्यमा मनिग्राममार्फत पठाएको नगद विप्रेषण इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिनेछ र छिटै नै मनिग्राममार्फत इसेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिनेछ।

यस साझेदारीका आधारमा मनिग्राम र इसेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक, संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोप, बेलायतलगायत २०० भन्दा बढी मुलुकका सेवाग्राहीलाई रकम पठाउन थप सहज हुनेछ।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक श्री अजेश कोइरालाले भने, ‘मनिग्रामसँगको सहकार्यले गर्दा हामीलाई विश्वभर फैलिएर रहेको नेपाली आप्रवासीहरुको ठूलो समूहमा पुग्न मद्दत गर्ने साथै नेपालमा पैसा पठाउने भरपर्दो माध्यम हुनेछ। यो सम्झौताले अन्तर्राष्ट्रिय विपे्रषणलाई डिजिटलीकरण गर्ने तथा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिद्धतामा थप टेवा पु्र्याउनेछ।’

मनिग्राम इन्टरनेशनल अन्तरदेशीय विप्रेषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो। मनिग्राममार्फत २०० भन्दा बढी देशहरुबाट सहज र सरल ढंगबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ। मनिग्राम उच्चस्तरीय प्रविधिको प्रयोग गरी मोबाइल तथा एपीआई सञ्चालित प्लेटफर्मको माध्यमबाट हरेक वर्ष लाखौँ सेवाग्राहीलाई डिजिटल तथा अन्य माध्यमबाट गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ। 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले आफ्नो सेवाग्राहीलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड १० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।