काठमाण्डौ । धितोपत्र कारोबार साताको चौथो दिन बुधबार पनि बजार दोहोरो अंकले बढेको छ।
बजार आज ४१.३० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५७०.२५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंकले बढेर ४५५.९५ को उचाइमा पुगेको छ। आज कारोबार रकम बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।
अर्थशास्त्री डा मीनबहादुर क्षेत्रीले नागरिक स्टक डिलर बजारमा लगभग औचापरिक रुपमा प्रवेश गर्ने भएपछि बजारमा रौनक छाएको बताए। ‘हिजो नेप्सेले नागरिक स्टक डिलरलाई कारोबार गर्न मिल्ने कम्पनीको सूची सार्वजनिक गरेको छ, यसले अब नागरिक स्टक डिलर लगभग बजारमा प्रवेश गर्ने देखिएको छ’, उनले भने, ‘यसले गर्दा बजारमा सकारात्मक प्रभाव पारेको छ।’
अर्कोतिर केपी शर्मा ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने देखिएपछि लगानीकर्ताको मनोबल बढ्दा बजारमा सकारात्मक प्रभाव परेको अनुमान गर्न सकिने डा क्षेत्री बताउँछन्। ‘स्थिर सरकारले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ’, उनले भने, ‘सेयर बजार अर्थतन्त्रको ऐना हो, यस सकारात्मक प्रभाव नपर्ने त कुरै भएन।’
बुलिस बजारमा उतारचढाव आउनैपर्ने तर्क गर्दै डा क्षेत्रीले आज कारोबार रकमले समेत बढ्दो बजारलाई संकेत गरेको छ। ‘परिसूचकसँगै कारोबार रकम बढ्नु भनेको बजार माथि जानु नै हो’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक ३८१.११ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह २२१.०४ अंकले बढेको आज बैंकिङ समूहमा २२.५५ अंक, होटेल तथा पर्यटन समूहमा १७८.५६ अंक, विकास बैंक समूहमा २१.२८ अंक, वित्त समूहमा २२.३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५१.६७ अंक, अन्य समूहमा २०.४१ अंक, लघुवित्त समूहमा १२२.४७, जीवन बीमा समूहमा १४१.२२ अंक, म्युचुअल फन्ड समूहमा ०.२५ अंक र लगानी समूहमा ४.९३ अंकको बढोत्तरी भएको छ।
आज जलविद्युत समूह १४.९६ अंकले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा कारोबार भएको छ।
यो दिन निफ्राको सर्वाधिक ६५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्ला तामाकोशीको ४१ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बंगलादेश बैंकको ३४ करोड ५८ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्मेन्टको २५ करोड १७ लाख रुपैयाँ, अपी पावरको १७ करोड १ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ६५ लाख रुपैयाँ, मेगा बैंकको १४ करोड ४ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्सको १३ करोड ७३ लाख रुपैयाँ, एसटीसीको १२ करोड ८४ लाख रुपैयाँ र छिमेक लघुवित्तको १२ करोड ७९ लाख रपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ६ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। एसटीसीको सेयरमूल्यमा १० प्रतिशत तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, चन्द्रागिरी हिल्स, आरएसडीसी लघुवित्त, माउन्टेन हाइड्रो र कालिका पावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
आज राइराङ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य झन्डै ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago