काठमाण्डौ। सरकारले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन व्यवस्थान गर्न निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सोमबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएकाहरु पनि सार्वजनिक बसमा आवतजावत गरिरहेको भन्दै मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन व्यवस्था गर्न निर्देशन दिएको हो।

परिपत्रमा हाल कोभिड–१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्यवस्था गरिएको र कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको भन्ने खबर आएकोमा सबै प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुको समन्वयमा कोभिड–१९ को चिह्न र लक्षण भएकाहरुको अस्पतालहरुमा र लक्षण नभएकाहरुको आइसोलेसन सेन्टरको व्यवस्था गरी १० दिन अनिवार्य आइसोलेसन गर्न निर्देशन दिइएको छ। 

मन्त्रालयले आइलोसनको खर्च प्रतिबिरामी २ हजार रुपैयाँसमेत उपलब्ध गराउने जनाएको छ।