काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि बजार दोहोरो अंकको बढोत्तरीका साथ बन्द भएको छ। 

आज बजार १२.८८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६३१.९० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.६१ अंकले बढेर ४६६.४२ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर सवा ७ अर्ब रुपैयाँबराबरको भएको छ।

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बजार सकारात्मक रहेको बताए। ‘हिजोआजको बजार बढाइ हेर्ने हो भने अब छिटै नेप्सेले अलटाइम हाई ब्रेक गर्ने सम्भावना बढेको छ’, उनले भने। 

रौनियारले लगानीकर्ताहरुलाई अहिले बजारमा अवसरैअवसर रहेको बताए। ‘छानी–छानी राम्रा र बलिया कम्पनीमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुने सम्भावना छ’, उनले भने।

रौनियारले बैंक तथा वित्तीय संस्थाहरुको दोस्रोभन्दा तेस्रो त्रैमास वित्तीय विवरण राम्रो आउने उल्लेख छ। ‘बैंकिङ समूह चम्किएलगत्तै बजारमा उछाल आउनेछ’, उनले भने।

अब राजनीतिक परिस्थिति जस्तोसुकै भए पनि बजार सकारात्मक ढंगले अगाडि बढ्ने रौनियारको ठम्याइ छ। यस्तो बेला हुने इन्साइडर ट्रेडिङलाई नियन्त्रण गर्न नियामक निकायले कडा कदम चाल्नुपर्ने उनको भनाइ छ। ‘इन्साइडर ट्रेडिङ अपराध हो’, उनले भने, ‘नियामक निकायले दूधको दूध, पानीको पानी हुने गरी कारबाही प्रक्रिया अगाडि बढाएर बजारमा सकारात्मक सन्देश जानेछ।’

टीएमएसमा अझै पनि समस्या रहेको उल्लेख गर्दै रौनियारले ब्रोकरले ल्याउने भनेको आफ्नै टीएमएस छिटो आउनुपर्ने धारणा राखे। 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजार बढ्दा लगानीकर्ताहरु संयम भएर अगाडि बढ्नुपर्ने बताइन्। ‘बजार बढ्यो भन्दैमा हौसिनु उचित हुँदैन’, उनले भनिन्, ‘किनकि सेयर बजार सधैँ बढ्दैन, घट्ने पनि हुन्छ। यो प्राकृति नियम नै हो। त्यसैले लगानीकर्ताहरुले सुझबुझका साथ लगानी गर्दा फाइदै हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने बाँकी ९ वटामा समूहमा रातो पोतिएको छ। 

यो दिन व्यापार समूह सर्वाधिक ३६८.५७ अंकले उकालो लागेको छ। अन्य समूह ६३.९४ अंकले बढेको आज बैंकिङ समूहमा ५.४३ अंक, विकास बैंक समूहमा ५२.८८ अंक, जलविद्युत् समूहमा २४.०९ अंक, वित्त समूहमा २३.०६ अंक, निर्जीवन बीमा समूहमा २५.०१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १२.७४ अंक, लघुवित्त समूहमा २.६९ अंकको बढोत्तरी भएको छ।

आज होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै ७७.२२ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ५६.६६ अंकले घटेको यो दिन म्युचुअल फन्ड समूहमा ०.०३ अंक र लगानी समूहमा १.०९ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता सेयर ७ अर्ब २५ करोड ९ लाख २४ हजार १२४ रुपैयाँमा कारोबार भएका छन्।

आज माथिल्लो तामाकोशीको सर्वाधिक ३० करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हाइड्रोइलेक्ट्रिसिटीको २४ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको २४ करोड रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ७४ लाख रुपैयाँ, नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको १५ करोड २९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड २५ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १५ करोड २२ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकको १३ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। सान्जेन जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा युनाइटेड फाइना, किसान लघुवित्त, वोमी लघुवित्त, एनआईसी एसिया लघुवित्त, अजोड इन्स्योरेन्स र श्रीइन्भेस्टमेन्ट फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन साल्ट ट्रेडिङको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्टको सेयरधनीले उच्च गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।