काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाबाट थलिएको अर्थतन्त्र पुरुत्थानका लागि निजी क्षेत्रले सरकारलाई हरसम्भव सहयोग गर्ने बताएका छन्। 

नेपाल चेम्बर अफ कमर्सको आज बिहीबार आयोजित ७० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो धारणा राखेका हुन्। ‘कोरोना महामारीपछि चाँदी रिकभर भएको अर्थतन्त्रका रुपमा नेपालको नाम सारा विश्वले चिन्न सक्ने अवस्था सिर्जना गर्न सकौँ’, उनले भने, ‘यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरले साथ दिन तयार छ।’

अध्यक्ष श्रेष्ठले सरकारले ठूलो लगानी गर्नुभन्दा केही नीतिगत सहजीकरणमार्फत यसो गर्न सकिन्ने भन्ने आफूहरुको विश्वास रहेको पनि बताए। 

मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले कोभिड संकट सुरु भएको एक वषृभन्दा बढी समय भइसक्दा पनि अर्थतन्त्रको गति र दिशा अझै अन्यौलग्रस्त रहेको बताए। ‘पर्यटनलगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ’, उनले भने, ‘अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद् छैन।’

विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट देशको अर्थतन्त्र आगामी केही दिन अझै त्यति सुखद् नरहेको देखिने अध्यक्ष श्रेष्ठले बताए। ‘केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनखुसार आर्थिक वृद्धि करिब २ प्रतिशतले ऋणात्मक भएको देखिएको छ’, उनले भने, ‘३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैँमा त्यति ठूलो नभएकोले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधनस्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ।’

विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहातसम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति व्यहोर्नु नपरेको श्रेष्ठले बताए। ‘यद्यपि पुनरुत्थानको बाटोमा अझै हिँड्न सकेको छैन’, उनले भने।