काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलस्थित नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित एअर कार्गो बिल्डीडबाट आयातनिर्यात गरिने मालसामानहरुमा बृद्धि गरिएको कार्गो प्रबन्ध शुल्क फिर्ता लिन विभिन्न व्यवसायिक संघ–संस्थाहरुले माग गरेका छन् ।

नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा विभिन्न व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यत्र मन्त्री दिलनाथ गिरी समक्ष ज्ञापनपत्र बुझाई बृद्धि गरिएको शुल्क फिर्ताको माग राखेका हुन् ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले केही दिनअघि सूचना जारी गरी शुल्क बृद्धि भएको जनाएको थियो । त्यसलगत्तै चेम्बर, सीएनआई लगायतका संघसंस्था विज्ञप्तिमार्फत आपत्ति जनाई अविलम्ब वृद्धि भएको शुल्क फिर्ता हुनुपर्ने माग राखेका थिए ।

नेपालको निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासँग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरिएको र प्रस्तुत शुल्क वृद्धिले दैनिक उपभोग्य सामानको मूल्यमा प्रभाबित हुने तथा निर्यात व्यापार घटिरहेको अवस्थामा शुल्क वृद्धिले निकासी हुने वस्तुमा लागत वृद्धि हुन गई अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पर्धात्मक क्षमता घट्ने व्यवसायीको दाबी छ ।

नेपालको उद्योग तथा व्यापार क्षेत्रमा दुरगामी नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाइ पनि गम्भीर असर पर्ने भएकोले शुल्क वृद्धि सम्बन्धी निर्णय अबिलम्व फिर्ता लिन चेम्बर लगायतका व्यवसायिक संघ–संस्थाहरुले माग राखेका थिए । जवाफमा मन्त्री गिरीले आवश्यक  अध्ययन गरी निर्णयमा पुग्ने बताएका थिए ।