काठमाण्डौ । कोरोना नयाँ भेरियन्टको जोखिम बढ्दै गएपछि भोलि वैशाख १६ गते बिहान ६ बजेबाट उपत्यकामा निषेधाज्ञा लागू हुँदैछ। निषेधाज्ञाका बेला अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएका छन्। 

निषेधाज्ञा लागू भए पनि सेयर बजार भने खुलै रहनेछ। तर धितोपत्र दलाल व्यवसायी (ब्रोकर हाउसहरु) मा लगानीकर्ता तथा कर्मचारी भौतिक उपस्थिति कम गर्नुपर्ने भएकोले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगानीकर्ताहरुलाई विद्युतीय माध्यमबाट मात्रै सेयर कारोबार गर्न आग्रह गरेको छ। 

निषेधाज्ञा अवधिमा लगानीकर्ताले चेकमार्फत खरिद रकम तथा भौतिक निर्देशन पुर्जी (डीआईएस) मार्फत बिक्री गरिएको धितोपत्र व्यवसायीहरुलाई उपलब्ध गराउन असहज हुने भन्दै एसोसिएसनले त्यस्ता माध्यमबाट मात्र रकम तथा धितोपत्र भुक्तानी गर्दै कारोबार गरिरहेका लगानीकर्ताहरुलाई विद्युतीय माध्यमबाट रकम तथा मेरो सेयर (ईआईडीएस) मार्फत धितोपत्र भुक्तानी गर्नसक्ने व्यवस्था सुनिश्चिता गरेरमात्र कारोबारमा संलग्न हुन आग्रह गरेको हो। यसका साथै खरिद रकम तथा बिक्री गरिएको धितोपत्र ‘टी प्लस वान’ भित्र हस्तान्तरण गर्न सक्ने कुराको यकिन गरेरमात्र कारोबार गर्न तथा ‘टी प्लस वान’ भित्र नै रकम तथा धितोपत्र हस्तान्तरण गरी जिम्मेवार लगानीकर्ताको कर्तव्य निर्वाह गरी यो असहज परिस्थितमा सहयोग गरिदिन एसोसिएसनले आग्रह गरेको छ। 

निषेधाज्ञाको अवधिमा पनि सरकार, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्ड तथा अन्य निर्देशनहरुको पालना गर्दै विद्युतीय माध्यमको उच्चतम प्रयोगमार्फत धितोपत्र दोस्रो बजार कारोबार तथा राफसाफ निरन्तर गर्न गराउन आफूहरु पूर्ण रुपमा तयार रहेको एसोसिएसनको भनाइ छ। 

यसैगरी एसोसिएसनले ब्रोकहरुले कारोबारको राफसाफपश्चात लगानीकर्ताहरुलाई गर्नुपर्ने धितोपत्र तथा रकमको भुक्तानी समयमै गर्न आवश्यक विद्युतीय माध्यम पूर्ण रुपमा तयार गरिएको पनि जनाएको छ। यसका साथै बैंक खाता अद्यावधिक नभएको, समयमा नै खरिद रकम भुक्तानी नगरेको, प्रणालीमा आउन सक्ने अनपेक्षित समस्या तथा कर्मचारीहरु संक्रमित भई निश्चित क्षमतामा मात्र कार्यालय सञ्चालन गर्नुपर्नेबाहेकका अवस्थामा समयमै बिक्री रकम तथा खरिद धितोपत्र हस्तान्तरण गर्न ब्रोकरहरुका तर्फबाट कुनै समस्या नहुने पनि एसासोसिएसनले लगानीकर्ताहरुलाई आश्वास्त पारेको छ। 

यो अवधिमा सम्बन्धित निकायहरुबाट ब्रोकर हाउसहरुका कर्मचारीको आवागमनलगायत अन्य आवश्यकताहरुमा निरन्तर सहयोग हुने अपेक्षा पनि एसोसिएसनले राखेको छ।