काठमाण्डौ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। 

विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन्। प्रधानमन्त्री पदमा कायम रहन विश्वासको मत लिने प्रस्तावमा ओलीले १३६ मत पाउनुपर्ने थियो। तर उनको प्रस्तावको पक्षमा ९३ मतमात्र पर्यो। 

संसदको सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्। तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए भने जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन्।

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । 

यसैबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका छन्।