काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको छ। 

पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ। स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ। उनको अवस्था अहिले सामान्य छ। 

यसैबीच पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ। 

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई त्यसको केही दिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ। 

पछिल्लो समय पूर्वरानीलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ। उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ। 

पूर्वअधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट भने यसअघि नै नेगेटिभ आइसकेको छ।