काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि बजार दोहोरो अंकले उकालो लागेको छ।
बजार आज २७.४७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६७३.३१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेर ४७८.२४ को विन्दुमा पुगेको छ।
आज कारोबार रकम पनि बढेर पौने ६ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आजको बढाइले बजार सकारात्मक नै रहेको संकेत गरेको बताउँछन्। ‘परिसूचकसँगै कारोबार रकम पनि बढेको छ’, उनले भने, ‘यो निकै सकारात्मक पक्ष हो।’
सेयर बजारलाई राजनीतिको प्रभाव नपर्ने ढकालको भनाइ छ। ‘अब सत्तामा जो आए पनि सेयर बजारको विकास र विस्तारलाई सकारात्मक पहल गर्नेछन्’, उनले भने, ‘बजार अब के होला भनेर आत्तिनुपर्ने अवस्था छैन, ढुक्क भएर सोचविचार गरेर कारोबार गर्न म लगानीकर्ताहरुलाई आग्रह गर्छु।’
सेयर बजार तलमाथि हुनु स्वाभाविककै रहेको उल्लेख गर्दै ढकालले अब बजार विस्तारै माथि नै जाने सम्भावना रहेको बताए। ‘यतिबेला राम्रा र सस्ता कम्पनीका सेयर छानेर लगानी गर्दा उत्तम हुन्छ’, उनले भने।
बजारमा ‘सेयरबजारको बाबाजी’ नामले परिचित सक्रिय लगानीकर्ता विदूर भट्टराई पनि बजार सानातिना करेक्सन व्यहोर्दै माथि नै जाने बताउँछन्। ‘बजार अझै बढ्न बाँकी नै छ’, उनले भने, ‘सबैले कुरा बजारलाई सपोर्ट गरेकै छ, त्यसैले बजार सकारात्मक नै छ।’
बजारलाई राजनीतिक गतिविधिले खासै प्रभाव नपार्ने भट्टाईको भनाइ छ। ‘राजनीतिले प्रभाव पाथ्र्यो भने बजार निकै तल गइसक्यो तर त्यस्तो भएन’, उनले भने, ‘किनकि बजारले राजनीतिलाई पचाइसकेको छ।’
बजार घट्ने कुनै कारण नै नरहेको पनि भट्टराई बताउँछन्। ‘त्यसैले बजार नकारात्मक होलाजस्तो मलाई लाग्दैन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। जीवन बीमा समूह सर्वाधिक २६७.१८ अंकले उकालो लागेको छ। व्यापार समूह २२१.६७ अंकले बढेको आज बैंकिङ समूहमा ३.३८ अंक, होटेल तथा पर्यटन समूहमा २३.१९ अंक, विकास बैंक समूहमा १५.२३ अंक, जलविद्युत समूहमा २१.०७ अंक, वित्त समूहमा १७.४९ अंक, निर्जीवन बीमा समूहमा १७६.४८ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३९.७ अंक, अन्य समूहमा ५३.१३ अंक, लघुवित्त समूहमा ६५.१२ अंक, म्युचुअल फन्ड समूहमा ०.१८ अंक र लगानी समूहमा १.४९ अंकको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
नेप्सेमा सूचीकृतमध्ये आज २२० कम्पनीका १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा किनबेच भएका छन्।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको २० करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन शिवम सिमेन्टको १६ करोड २२ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १५ करोड ९७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १४ करोड १७ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ८३ लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ५ लाख रुपैयाँ, निफ्राको ११ करोड ६७ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १० करोड ८५ लाख रुपैयाँ र साल्ट ट्रेडिङको १० करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। बोटलर्स नेपाल (तराई) को सेयरमूल्यमा १० प्रतिशत तथा रुरु जलविद्युत, युनाइटेड मोदी हाइड्रोपावर र गुह्वेश्वरी मर्चेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन समता घरेलु लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन विशाल बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19