काठमाण्डौ । कोभिड–१९ को दोस्रो लहरसँगै देशका अधिकांश स्थानमा निशेधाज्ञा जारी भएको अवस्था छ। दिनप्रतिदिन बिरामीहरुको चाप बढ्दै गइरहेको छ। अस्पतालहरुमा बेडको चरम अभाव देखा पर्दै गएको छ। 

त्यस्तै कोभिडका बिरामीलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन सिलिन्डरको समेत अभाव भइरहेको अवस्था छ। यस्तो आपतकालीन परिस्थितिसँग जुध्न नेपाल उद्योग परिसंघले यसअघि नै उद्योगहरुमा रहेको अक्सिजन सिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सबैलाई आह्वानसमेत गरिसकेको छ।

त्यस्तै आज परिसंघले आफ्नो सदस्य संस्था होङ्शी–शिभम सिमेन्टमार्फत ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ। 

रु. २ करोडबराबरको ती सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामग्रीले अक्सिजन सिलिन्डरको विकल्पका रुपमा राहत हुने विचार व्यक्त गरे। 

त्यस्तै सामग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसँगै रहेको बताए। राष्ट्रको संकटका बेला अत्यावश्यक सामग्री उपलब्ध गराई सहयोग पुर्याएकोमा परिसंघले होङ्शी–शिभम सिमेन्टलाई धन्यवाद पनि दिएको छ।