काठमाण्डौ । विश्वका ठूला मिडियाहरुमा हिजोआज नेपालमा कोरोनाबाट उत्पन्न परिस्थितिका विषयमा निकै चर्चा हुन थालेको छ। 

विशेषगरी बाँके र काठमाण्डौलाई जोड दिएर बीबीसीले राजनीतिक दलहरु आन्तरिक खिचातानीमा लागेको बेला नेपालका अस्पतालहरुमा अक्सिजन र शय्या अभावले दैनिक कोरोनाबाट हुने मृत्युदर बढेको समाचार प्रकाशित गरेको छ। समाचारमा भनिएको छ, ‘नेपाल चीन र भारतको बीचमा भुपेरिवेष्टि एउटा गरिब देश हो, भारतबाट अक्सिजन आपूर्ति रोकिएका कारण नेपालका अस्पतालमा अक्सिजनको चरम अभाव हुन गई समस्या उत्पन्न भएको छ।’ 

भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएकोले अक्सिजनलगायत अत्यावश्यक वस्तु आपूर्ति हुन नसकेको बताइएको छ। 

नेपालमा कोरोनाको पहिलो लहर कम प्रभाव परेको भए पनि दोस्रो लहरले भने गम्भीर असर परेको बीबीसीमा उल्लेख छ। ‘अप्रिलको पहिलो साता दैनिक १५० जनाको हाराहारीमात्रै संक्रमित देखिने गरेकोमा अप्रिलको अन्त्यसम्म दैनिक ९ हजारभन्दा बढी संक्रमित फेला पर्न थालेको छ’, बीसीसीले लेखेको छ, ‘कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ४ हजार बढी भइसकेको छ।’ 

बीसीसीले नेपालमा अनुमानित ८० हजार संक्रमित होम आइसोलेसनमा रहेको उल्लेख गरेको छ। 

संयुक्त राष्ट्रसंघका अनुसार दैनिक संक्रमण दरको उच्च अनुपातका हिसाबले १० राष्ट्रमध्ये ९ औँ राष्ट्र नेपाल रहेको छ। हालसम्म नेपालमा जम्मा २१ लाखले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइसकेको र तीमध्ये ४ लाखले मात्रै दुवै डोज लगाइएको बीबीसीले जनाएको छ।