काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ। 

आज काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा बस्ने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने विषयमा निर्णय गर्ने प्रशासन स्रोत बताउँछन्। बैठक दिउँसो ३ बजे बस्नेछ। 

बैठकमा काठमाण्डौका सीडीओ कालीप्रसाद पराजुली, भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराई र ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौला सहभागी हुनेछन्। बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने सीडीओ पराजुलीले जानकारी दिए। ‘निषेधाज्ञा एक साता थप्ने विषयमा छलफल हुनेछ’, बिजशालासँग सीडीओ पराजुलीले भने, ‘स्वास्थ्य मन्त्रालयसँग रायसल्लाह लिएर किराना पसल (खाद्यान्न) र डिपार्टमेन्ट स्टोर केही घन्टाका लागि खोल्न दिइनेछ।’ 

कोरोना संक्रमण घट्दै पनि सोचअनुरुप हुन नसकेका कारण निषेधाज्ञा तत्काल खुला गर्ने अवस्था नआएको उपत्यकाका सीडीओहरुले निष्कर्ष  निकालेका छन्।

उपत्यकामा गत जेठ १४ बाट किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गरिएको छ। जेठ १४ गतेबाट थप गरिएको निषेधाज्ञाको अवधि जेठ २० गतेबाट सकिँदैछ।